काठमाडौँ । भूकम्प प्रभावित समुदायका अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र समावेशीकरण परियोजनाको दुई दिने अभिमुखीकरण कार्यक्रम आज काठमाडौँमा शुरू भएको छ ।
परियोजनाको विषयमा जानकारी दिने र दुई वर्षको परियोजना खाका, सञ्चालन विधि र प्रक्रियाका विषयमा जानकारी दिने उद्धेश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको शुभारम्भ सत्रमा आफ्नो मन्तव्य राख्दै भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेशप्रसाद ढकालले नेपाल रेडक्रसले अति सङ्कटासन्न समुदायको आवश्यकतालाई ध्यानमा राखेर विकासका गतिविधि गर्दै आएको र यो परियोजना पनि त्यसको एउटा भाग रहेको बताउनुभयो ।
उहाँले नेपाल रेडक्रसले नमूनाको रूपमा सञ्चालन गर्ने यो परियोजनाका लागि सम्बन्धित सबै क्षेत्रबाट सहयोग मिल्नेछ र एउटा सफल परियोजनाको रूपमा जस पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक इन्द्र बहादुर के.सी.ले देशको परिवर्तित सन्दर्भमा संघीयता र समावेशी राष्ट्रकै प्राथमिकता क्षेत्र रहेको र नेपाल रेडक्रस सोसाइटीेले पनि सोही अनुरूप यस्ता परियोजना सञ्चालन शुरू गरेको बताउनुभयो ।
उहाँले यस परियोजनालाई संस्थागत प्राथमिकताको रूपमा लिएर परियोजना सञ्चालन गर्न पनि सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।
लमजुङ र तनहुँ जिल्लामा सञ्चालन हुने यस परियोजनाका लागि ह्याण्डीक्याप इन्टरनेसनलको प्राविधिक सहयोग रहने छ ।
कार्यक्रममा परियोजना सञ्चालित जिल्ला शाखाका सभापति, मन्त्री, लैङ्गिक फोकल पर्सन, डेनिस रेडक्रस र ह्याण्डीक्याप इण्टरनेसनलका प्रतिनिधि, परियोजनासँग सम्बन्धित केन्द्र र जिल्लाका कर्मचारीहरूको सहभागिता रहेको छ ।