काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवादेखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको बर्बराहट भनेका छन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा राप्रपा प्रजातान्त्रिक गठनमा कुनै पनि बाह्य शक्तिको भूमिका नभएको बताए । आफ्नो भारतमा नातासम्बन्ध रहेको आधारमै भारतले नयाँ पार्टी खोल्न भूमिका खेलेको भन्नुको कुनै तुक नरहेको बताए ।
“पशुपति शमशेर राणासँग पार्टी गठन गर्ने सामथ्र्य छ । नेपाली राजनीतिमा प्रभावशाली रहँदै आएका साथीहरूको साथ छ कसैको सहयोग चाहिँदैन र बहकाउमा बहकिँदैन,” राणाले भने, “कमल थापाले पार्टीका होनहार साथीहरूले महत्वपूर्ण निर्णय लिएपछि रन्थनिएर आरोप लगाइरहनुभएको छ ।”
मुलुकको आवश्यकता र पार्टीका जिम्मेवार कार्यकर्ताको भावनाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन भएको बताए ।
नवगठित पार्टी सरकारमा जाने र त्यसबारे निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि आधिकारिक निर्णय लिइने उनको भनाई थियो । पार्टीले सरकारको समर्थन गरिसकेको बताए ।
उनले संविधान संशोधनको पक्षमा जाने संकेत समेत गरे । यसबारे उचित समयमा निर्णय लिने उनको भनाई थियो । आफू संविधान संशोधनको पक्षमा रहेको स्पष्ट पार्दै त्यसबारे आफ्ना केही धारणा रहेको समेत बताए ।
कमल थापाले एकलौटी र मनोमानी ढंगले पार्टी चलाउन खोजेकाले आफू कठोर निर्णय लिन वाध्य भएको बताए । उनले भने, “पार्टी ध्वस्त हुनबाट बचाउनका लागि कठोर निर्णय लिएर बेग्लै बाटो जानुप¥यो ।”
पार्टी एकीकरण अगाडि भएका सम्झौता पालना नभएको उनले बताए ।
राजसंस्था र हिन्दु अधिराज्यबारेको निर्णय औपचारिक बैठक बसेर लिइने बताए । हिन्दु अधिराज्यको मुद्दा लिएर दक्षिणले समेत पत्याएको हो भनी गरिएको प्रश्नमा उनले भने, “त्यसो हुन्थ्यो भने कमल थापाले ठूलो समर्थन पाउनुपथ्र्यो ।”