यातायात मजदुरहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डबारे तालिम !

109

काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विभिन्न मजदुर संगठन र विज्ञहरूको संयुक्त टोलीले सार्वजनिक यातायातका मजदुरहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गर्न थालेका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा अभिमुखीकरण तालिम सञ्चालन गर्न थालेका हुन् ।

केन्द्रीय स्तरमा यसघि नै तालिम सञ्चालन भइसकेको अवस्थामा प्रदेशस्तरमा भने आजबाट सञ्चालन हुन थालेको हो ।
प्रदेश अन्तर्गत आजबाट गण्डकी प्रदेशको पोखरामा तालिम शुरू गरिएको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले यातायात टाइम्सलाई जानकारी दिए ।

हाल देशभर ३ लाख सार्वजनिक यातायात रहेका छन् भने ११ लाख मजदुरहरू रहेका छन् । कोरोना कहरमा पनि सार्वजनिक सवारी सञ्चालन भइरहेको अवस्थामा कोरोना भाइरसबाट के–कसरी बच्न सकिन्छ भनेर तालिम सञ्चालन गरिएको अध्यक्ष कार्कीले बताए ।

विभिन्न स्वास्थ्य सुरक्षा मापदण्ड कसरी पालना गर्ने भन्ने सम्बन्धमा नै तालिम केन्द्रीत रहेको बताइएको छ ।

नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले कोरोनाबाट बच्न सबैले स्वास्थ्य सुरक्षा अपनाउनु पर्नेमा जोड दिए । यातायात टाइम्ससंगको कुराकानीमा अध्यक्ष भण्डारीले कोरोनाबाट आफू बच्न तथा यात्रुहरूलाई बचाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पोखराबाट शुरू भएको तालिम देशका ७ वटै प्रदेशमा सञ्चालन गरिने आयोजकले बताएको छ । तालिम प्रत्येक प्रदेशमा न्युनतम एकहप्ता सञ्चालन हुनेछ ।