बाढीले २४ घण्टामा २० जनाभन्दा बढीको मृत्यु

722

शुक्रबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर २४ घण्टामा २० जनाभन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

तराई र मध्य पहाडी क्षेत्रका जिल्लामा जनधनको क्षति भएको बताइएको छ।

तराईका जिल्लाहरु झापा, मोरङ, सुनसरी, रौतहट, सर्लाही, बारा, बाँके, दाङ र मध्यपहाडी जिल्लाहरु पाल्पा, पाँचथर, सिन्धुली लगायतका जिल्लाहरु बढी प्रभावित भएको गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्ले बीबीसीलाई बताए।

गृह मन्त्रालयले सबै सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै उद्धारको निम्ति सबै सरकारी एवं गैरसरकारी निकाय तथा नागरिकलाई उद्धारमा प्रभावकारी रुपमा क्रियाशील हुन अपिल गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता काफ्लेले डुबानको जोखिम न्यून पार्न भारतीय अधिकारीहरुलाई आग्रह गरेर बाँकेस्थित भारतीय सीमा क्षेत्रमा रहेको लक्ष्मणपुर ब्यारेजका ढोका खोलिएको बताए।

पूर्वी क्षेत्रमा पानी परिरहेकाले उद्धारमा कठीनाइ बेहोर्नुपरेको छ।

कैयौं जिल्लाहरुमा निकै भूभाग डुबानमा परेको गृहमन्त्रालयले जनाएको छ।