ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय विभूति तथा महान मूर्तिकार अरनिकोको जन्मस्थललाई व्यापक रूपमा प्रचारप्रसार गरेर देशको गौरव उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ।
मन्त्री खरेलले ललितपुर महानगरपालिका–६, कनिबहालस्थित अरनिको जन्मस्थल तथा आसपासका ऐतिहासिक सम्पदाको आज स्थलगत अवलोकन गर्दै सम्पदाग्रस्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने प्रयास आवश्यक रहेको बताउनुभयो।
कनिबहालस्थित वडा कार्यालयको अवलोकनपछि उहाँले ओकुबहाल क्षेत्र, रुद्रवर्ण महाविहार, महाबुद्ध, विद्याधरी देवी मन्दिर सहित अरनिकोको जन्मस्थल पुगेका थिए। नेपालका धातु तथा मूर्तिकला परम्परालाई विश्वमै सम्मानित बनाउन अरनिकोले पुर्याएको योगदान ‘अतुलनीय’ रहेको उल्लेख गर्दै मन्त्री खरेलले सम्पदा संरक्षण र प्रवर्द्धनलाई सरकारको प्राथमिकतामा राखिने बताए।
उहाँले भन्नुभयो, “हामी संस्कृति र सम्पदामा धनी छौँ। हाम्रा पुर्खाले उच्च कलाकौशलका अमूल्य स्मारकहरू निर्माण गरेका छन्। ती सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार मार्फत पर्यटन विकासमा पनि योगदान दिनुपर्छ।”
सम्पदास्थल अवलोकनका क्रममा मन्त्री खरेलले वडालाई जनतासँग प्रत्यक्ष रूपमा जडित तथा प्रभावकारी सेवा दिने इकाइ भन्दै मन्त्रालयसमेत वडासँग समन्वय र सहकार्यका लागि सदैव तयार रहने प्रतिवद्धता व्यक्त गरे।
यस अवसरमा ललितपुर–६ का वडा अध्यक्ष रुपेन्द्रराज शाक्यले संघीय सरकारको बजेट वडामा ल्याउन कठिनाइ भइरहेको बताउँदै सहजीकरणका लागि आग्रह गरे। उनले मूर्त सम्पदा संरक्षणका कार्यक्रम सञ्चालन गर्न रकम अपर्याप्त भएको भन्दै आवश्यक सहयोगका लागि आग्रह गरे।
अध्यक्ष शाक्यले अरनिकोको जन्मस्थल यही वडामा रहेको जानकारी दिँदै यो क्षेत्र धातुकला तथा मूर्तिकला उद्यमको प्रमुख केन्द्र (हब) भएको बताए। उनले संघीय मन्त्रीलाई प्रत्यक्ष भेटेर वडाका समस्या र सम्भावनाहरू प्रस्तुत गर्न पाएकोमा खुशी व्यक्त गरे।
मन्त्री खरेलले स्थानीय समस्याबारे प्रत्यक्ष जानकारी लिएर समाधानका लागि पहल गर्ने आश्वासन पनि दिनुभयो।







































