काठमाडौं- आज ११ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। पहिलो संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपालबाट २ सय ४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।
सो घोषणाको अवसरमा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने गरिन्छ।
११ वर्ष गणतान्त्रिक अभ्यासमा नेपालले दुई वटा राष्ट्रपति देखिसकेको छ। पहिलो संविधानसभाका ससस्यहरुले ०६५ साउन ६ मा पहिलो राष्ट्रपतिको रुपमा रामवरण यादवलाई निर्वाचित गरेको थियो। त्यसपछि विद्यादेवी भण्डारी ०७२ कात्तिक ११ मा राष्ट्रपति चयन भएकी थिइन्। उनी दोस्रो कार्यकालका पनि राष्ट्रपति भएकी छिन्। ०७४ फागुन २९ मा राष्ट्रपतिको लागि भएको निर्वाचनमा उनी निर्वाचित भएकी थिइन्।
शुभकामना सन्देशः
राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताएकी छिन्।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्येक नेपालीको आर्थिक – सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणमा राष्ट्रको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्न तथा देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। उनले यस दिवसमार्फत गणतन्त्रको सुदृढीकरण तथा आर्थिक समृद्धिका लागि सबै नेपालीलाई ऐक्यबद्वता र हातेमालो गर्न आह्वानसमेत गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना व्यक्त गरेका छन्। ‘जन्मजात नेतृत्व र जन्मसिद्ध श्रेष्ठताको परम्परा तोडेर गणतन्त्र स्थापना गरिएको सुनौलो बिहानीमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, मंगलबार बिहान एक ट्विट गर्दै प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘गणतन्त्रलाई केवल शब्द प्रयोजनामा मात्र सीमित नगरी आम जीवनको खुसीयालीमा बदल्न विकास र समृद्धिको यात्रामा अग्रसर होऔं।’
सभामुख कृष्णबहादुर महराले हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्ने बताएका छन्। ‘देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन सके वास्तविक अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ’, उनको शुभकामना सन्देशमा भनिएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि गणतन्त्रको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले विभेदमुक्त समाज, शान्ति र सुशासन तथा स्थिरता सहितको समतामुलक नेपाल गणतन्त्रको सार्थक उपलब्धी हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन्। कांग्रेसले विभिन्न कालखण्डमा गरेका बलिदान, त्याग र संघर्षको परिणामस्वरुप गणतन्त्र घोषणा भएको उल्लेख गर्दै देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई बलियो बनाउने गरी मुलुकमा आर्थिक विकास र समृद्धितर्फ अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनेका छन्।







































