आधा आकासको अपमान, प्रत्यक्षतर्फ तीनजना महिलाको उम्मेदवारी, एमालेबाट शून्य !

453

काठमाडौं – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा चुनावमा दलहरुले प्रत्यक्षतर्फ महिलालाई टिकट दिन कन्जुस्याई गरेका छन् ।

३२ जिल्लाका ३७ स्थानका लागि आइतवार भएको मनोनयनमा जम्मा ३ जना महिलाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसले दुई स्थान र माओवादी केन्द्रले १ क्षेत्रमा मात्र उम्मेदवारी दिएका छन् । प्रतिशतका हिसावले प्रत्यक्षतर्फ महिला उम्मेदवारी १० प्रतिशत भन्दा कम हो ।

नेपाली कांग्रेसले खोटाङबाट सरस्वती बजिमय र बाग्लुङबाट चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ । मन्त्री बनाएको छ । माओवादी केन्द्रले कमला रोकालाई पश्चिम रुकुमबाट उम्मेदवार बनाएको छ । बजिमय यसअघि समानुपातिक प्रणालीबाट समानुपातिक सांसद बनेकी थिइन् ।

पति हरिबहादुर खड्काको निधनपछि चम्पा उपनिर्वाचनमा चुनाव जितेकी थिइन् । पहिलो चरणको चुनावमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका तर्फबाट एकजना पनि महिलाले उम्मेदवार बन्ने अबसर पाएनन् ।

महिला अधिकारको क्षेत्रमा काम गर्नेहरु महिलाले प्रत्यक्ष तर्फ चुनाव लड्न पाएमा उनीहरुको क्षमता विकास हुने बताउछन् । तर दलहरुले ३३ प्रतिशतको संवैधानिक बाध्यता पूरा गर्नमात्र महिलालाई समानुपातिक सूचीमा राखेका छन् ।

‘प्रत्यक्षबाट चुनाव लड्न टिकट पाउनु राजनीति गर्ने महिलाहरुको लागि सम्मानको बिषय पनि हो । तर दलहरुले महिला नेत्रीलाई त्यस्तो अबसर दिएनन्’ मिडिया एड्भोकेसी गु्रपकी अध्यक्ष समेत रहेकी बरिष्ठ पत्रकार बबिता बस्नेत भन्छिन्, ‘प्रत्यक्षमा महिलाहरुको न्युन उम्मेदवारीले दलहरुको मानसकिता उजागर गरेको छ । दलहरुले महिला नेत्रीलाई सम्मानजनक रुपमा हार्ने अवस्था पनि दिएनन् ।’

प्रगतिशिल भन्ने दलले नै प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य गर्नु लममर्दो विषय भएको उनी बताउछिन् । ‘अहिले बनेका गठबन्धनको मारमा राजनीति गर्ने महिलाहरु परेका छन्, चुनाव जित्ने क्षमता भएका महिला नेत्रीहरुलाई खुम्चाइएको छ’ बस्नेतले लोकान्तरसँग भनिन् ।