आफ्नै घाँटी रेटी भाग्दै गर्दा पक्राउ

1307

बलराम प्यासी काठमाडौं।  समय यतिसम्म खराव हुन थाल्यो कि कसैको विश्वास गर्न सक्ने आधार नै हराईसक्यो । यसको पछिल्लो उदाहरण हो, कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवको छुरी काण्ड । बिहीबार राती करीव साँढे १० बजेको समयमा यस्तै घटना सार्वजनिक भयो ।

स्थानीय हरहर महादेवमा विगत केही वर्षदेखि ‘त्रिपुरा आइतबारे मेटल वर्कशप’ ग्रील व्यवसाय सञ्चालन गर्दै आएका सिन्धुपाल्चोक टौथली ३ का श्रेष्ठ सहित परिवारका ३ जना सदस्यलाई सोही कारखानामा काम गर्ने र संगै बस्ने साथीले छुरी हानेर मरणासन्न बनाएपछि साथीको पनि विस्वास गर्दा एकचोटी सोच्न सबैलाई वाध्य पारेको छ ।

२६ वर्षिया नानु श्रेष्ठ

सोही वर्कशपमा विगत ६ महिनादेखि कार्यरत वर्दियाका २६ वर्षिय रमेश विष्ट साथीले नै छुरी हानेर सख्त घाइते बनाएपछि मनपेट पाएको साथीको समेत झट्ट विश्वास गर्न हुँदैन भनेर सबैलाई सबैलाई एकचोटी सोच्न वाध्य बनाएको हो ।

सोही कारखानामा काम पनि गर्ने र श्रेष्ठ परिवारसंगै बस्दै आएका अभियुक्त विष्टले ग्रिल कारखाना सञ्चालन गर्दै आएका २६ वर्षिय दिलबहादुर श्रेष्ठको साथै उनकी श्रीमती २६ वर्षिया नानु श्रेष्ठ र दिलबहादुरका १५ वर्षिय भाई असीम श्रेष्ठलाई समेत छुरीले हानेर सख्त घाइते बनाए ।

विष्टले उनीहरुलाई छुरी हानेर घाइते मात्रै बनाएनन, आफु पनि सोही छुरीले आत्महत्या गर्ने उद्धेश्यले आफ्नै घाँटी समेत रेट्न भ्याएको प्रहरीले जनाएको छ ।

दिलबहादुर श्रेष्ठ

श्रेष्ठ परिवारका तीनजनालाई टाउको, घाँटीलगायत शरीरका विभिन्न अंगमा छुरी हानेर सख्त घाइते बनाई आफ्नो पनि घाँटी रेट्दै भाग्दै गरेको रगताम्मे अवस्थामा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र काँडाघारी प्रभागको संयुक्त टोलीले अभियुक्तलाई घटनास्थलभन्दा करीव १ किलोटिर पर लाहुरेचोक नजिकबाट छुरीसहित पक्राउ गरेको थियो ।

प्रहरीले मध्यरातमा घाइते तीनजना र अभियुक्त समेतलाई शुरुमा स्थानीय मदरल्याण्ड अस्पतालमा सामान्य उपचार गरि सिभिल अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टरमा पुरयाएको थियो

घाइतेमध्ये छुरी हान्ने अभियुक्तको अवस्था अलि जटिल भएका कारण उनको रेटिएर प्वाल परेको घाँटीको शल्यक्रिया गरि ट्रमा सेन्टरको आइसियुमा राखि उपचार भइरहेको र अन्य तीनजनाको पनि सोही सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले बताए । घाइते तिनैजनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको डिएसपि काफ्लेले बताए ।

असीम श्रेष्ठ

आफ्ना दाजुभाउजु र भाईलाई ज्यान मार्ने उद्धेश्यले छुरी हानेको भन्दै घाइते दिलबहादुर श्रेष्ठका अर्का भाई सुजन श्रेष्ठले नयाँबानेश्वर वृत्तमा ज्यान मार्ने उद्योग अनर्गत विष्टलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।

घटनाका मुख्य अभियुक्त र अनय घाइतेको स्वास्थ्य अवस्था सामान्य भएपछि केही दिनभित्रै घटनाको पुर्ण विवरण आउने डिएसपि काफ्लेले बताउँदै यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।