आफ्नो वार्षिक पारिश्रमिक यसरी दान गर्ने गर्छन् ट्रम्प

240

आफ्नो वार्षिक पारिश्रमिक यसरी दान गर्ने गर्छन् ट्रम्प

एजेन्सी । अमेरिकाका पहिला अर्बपति राष्ट्रपति, डोनाल्ड ट्रम्प राष्ट्रप्रमुख नियुक्त हुनु अघि विश्वचर्चित व्यवसायी थिए । चुनाव प्रचार अभियानका समयमा नै उनले आफ्नो कूल सम्पति १० अर्ब बराबर रहेको दाबी गरेका थिए । तर जनवरी २०१७ मा राष्ट्रपति नियुक्त भएदेखि उनको सम्पति करोडौँ डलरले कम भएको बताइएको छ । 

हाल राष्ट्रपतिका रुपमा उनको वार्षिक पारिश्रमिक ४ लाख डलर रहेको छ जुन उनले विभिन्न एजेन्सीहरुलाई दान गर्दै आएका छन् । फोब्र्सका अनुसार ट्रम्पको नाममा रहेका घरजग्गा, गल्फ क्लब, रिसोर्ट आफ्नै ब्रान्ड, व्यक्तिगत विमानहरु, २४ क्यारेट सुन जडान इन्टेरियरयुक्त हेलिकप्टर लगायतका सम्पति ३.१ अर्ब डलर बराबरको रहेका छन् । 

यस्तोमा सोमबार मात्र उनले आफ्नो वार्षिक पारिश्रमिकको एक चौथाइ राष्ट्रिय सुरक्षा विभागलाई दान गरेकाबारे ट्वीट गरेका हुन् । उनले ट्वीटरमा १ लाख डलरको चेकमा हस्ताक्षर गरेको तस्बिर पोस्ट गर्दै यस्तो लेखेका हुन्, ‘मिडियालाई यसका बारेमा लेख्न मन पर्दैन र मलाई पनि उनीहरुको प्रचार चाहिँदैन ।’ यसरी सो ट्वीटमा उनले सबै वार्षिक पारिश्रमिक सुरक्षा विभाग लगायत विभिन्न एजेन्सीलाई दान दिने गरेको बताउँदै पुनः मिडियालाई ‘फेक’ को दर्जा दिएका हुन् । 

राष्ट्रपतिका रुपमा कार्यरत् भएदेखि नै उनले आफ्नो पारिश्रमिक विभिन्न सरकारी एजेन्सीहरुलाई दिँदै आएको प्रशासनको भनाइ छ । ड्रग एडिक्सन विरुद्ध सरकारी प्रयास, विज्ञानप्रविधि इन्जिनियरिङ र गणित सम्बन्धि करिअरको प्रचारमा लाग्ने परियोजना लगायत एन्टिएटम लडाइँपछिको पुनःनिर्माण परियोजनाका लागि उनले दान दिने गरेको बताइएको छ । त्यस्तै उनले यसअघि भेटेरन्स अफेयर्सको विभाग, यातायत विभाग, राष्ट्रिय निकुञ्ज विभाग, शैक्षिक विभाग र मानव सेवा विभागलाई पनि आफ्नो पारिश्रमिक प्रदान गरिसकेका छन् । 

१९८१ मा उनका दाजु फ्रेड ट्रम्पले मदिराको लतकै कारण ४३ वर्षमा ज्यान गुमाएका थिए जसकारण उनले गत जनवरीमा मदिरा दुरुपयोग र एन्टि–अल्कोहलिजमका लागि आफ्नो एक चौथाइ पारिश्रमिक दान गरेको वासिङटन पोस्टले जनाएको थियो । त्यसैगरी ट्रम्पले न्युजिल्यान्डको मस्जिदमा भएको आतङ्की हमलाका लागि मिडियाले आफूलाई दोषी ठहर्याउन ‘ओभरटाइम’ काम गरिरहेको भन्ने आरोप पनि लगाएका हुन् । सो घटनाका हमलाकारीले राष्ट्रपति ट्रम्पसँग आफ्नो विचार मिल्ने व्याख्या गरेपछि नै ट्रम्पको नाम यसमा जोडिन सुरु भएको सीएनएनले जनाएको छ ।

Source link