भक्तपुर ।
बाबुआमा गुमाएका वालवालिकाको लागि ‘मायालु घर’को रुपमा परिचित एसओएस वालग्राम नेपालले २०७२ बैशाखको विनासकारी भुकम्पमा परि बाबुआमा गुमाएका युवाहरुलाई आत्मनिर्भर र स्वावलम्वी बनाउने अभियान शुरु गरेको छ ।
भूकम्प लगत्तै एसओएस वालग्राम नेपालद्वारा स्थापित आकस्मिक सहायता कार्यक्रम (इआरपि) अन्र्तगत ‘शिक्षा तथा जीवीकोपार्जन कार्यक्रम’ (इएलपि) मार्फत ती युवाहरुलाई विभिन्न विषयको प्राविधिक तालीम निःशुल्क दिएर आत्मनिर्भर बनाउन लागेको हो ।
भूकम्पपीडित युवालाई स्वरोजगार बनाई स्वावलम्वी र आत्मनिर्भर बनाउनु सो तालीमको मुख्य उद्धेश्य रहेको एसओएस वालग्राम नेपालका पुर्व राष्ट्रिय निर्देशक एव्म वर्तमान सल्लाहकार श्रीशंकर प्रधानांगले बताए ।
भूकम्पका कारण घरमुलीको मृत्यु भएपछिको जिम्मेवारी सो घरको छोराछोरीमा सर्ने भएकोले उनीहरुलाई आत्मनिर्भर हुने खालको शीपमूलक तालीम दिएमा आर्थिक उन्नति हुने सल्लाहकार प्रधानांग बताउँछन ।‘रोजगारीको लागि घर छोडेर विदेश पलायन मात्रै विकल्प होइन, स्वदेशमै बसेर पनि आत्मनिर्भर बन्न सकिने’ उनको धारणा छ ।
इजरायली गैरसरकारी संस्था इज्र्वायडको आर्थिक सहयोगमा फागुनको पहिलो हप्तादेखि त्यसप्रकारको निःशुल्क व्यवसायीक तालीम शुरु गर्न लागेको इएलपि कार्यक्रमका संयोजक गोपाल घिमिरेले बताए ।

संयोजक घिमिरेका अनुसार सरकारको प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद (सिटिइिभिटी) बाट सम्वन्धन लिएको ओल्गापुरी भोकेशनल इन्स्टिच्युट बंगमतीमा २५ देखि ३० युवालाई व्यवसायीक तालीम दिइने छ । युवाहरुको लागि प्लम्विंग, इलेक्ट्रिसियन, कुकिंग तथा युवतीहरुका लागि ब्युटिसियन ४ महिने तालीम दिइने छ ।
२०७२ बैशाखको भूकम्प प्रभावित काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, गोरखासहित १२ जिल्लाका बाबु या आमा अथवा दुवै अभिभावक गुमाएका युवाहरुलाई सो तालीम दिइने कार्यक्रम संयोजक घिमिरेले बताए ।
संयोजक घिमीरेका अनुसार इज्र्वायडको आर्थिक सहयोगमा भूकम्पप्रभावित १२ जिल्लाका २५ जना विद्यार्थीलाई ११ र १२ कक्षा पढ्नको लागि आवश्यक पर्ने शैक्षिक छात्रवृत्ति समेत उपलब्ध गराइराखेको छ ।
एसओएस वालग्राम नेपालले यसअघि परिवार सुदृढीकरण कार्यक्रम अन्तर्गत न्युन आय भएक महिलाहरुको लागि विभिन्न व्यवसायीक तालीम दिँदै आएता पनि भूकम्प पीडित युवाहरुको लागि भनेर यसप्रकारको व्यवसायीक तालीम दनि लागेको भने यो पहिलो हो’—इएलपि कार्यक्रमका फिल्ड अफिसर सुलभ उप्रेतीले भने ।
एसओएस वालग्राम अन्तर्राष्ट्रियको सहयोगमा एसओएस वालग्राम नेपालले भूकम्पप्रभावित विभिन्न जिल्लाका सामुदायीक विद्यालयको नयाँ भवन बनाइदिनुका साथै पुराना भवनहरु जिर्णाेद्धार तथा सिन्धुपाल्चोक र दोलखाका भूकम्पपीडितका लागि नयाँ घर पनि बनाइरहेको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले बताएका छन ।








































