मलेसिया / उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाई किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेशियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ । इन्डोनेशियाकी नागरिक सिती अल्स्यान विरुद्ध दर्ता गरिएको मुद्धा फिर्ता भएकाले मलेशियाबाट उहाँलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भीएक्स नर्भ एजेन्ट” भनिने विषालु पदार्थ दलिदिएको आरोपमा उहाँ र अर्की भियतनामकी महिला डोन थी हौङलाई थुनामा राखिएको थियो ।

इन्डोनेशियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरुले एउटा टीभी कार्यक्रमका लागि आफुहरु त्यहाँ गएको बताउदै आएका थिए । सोमवार हौङको बयान हुन लागेको थियो । अल्स्यानको मुद्धा फिर्ता भएपनि हौङको बयान भने पछाडी सारिएको छ । मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथी आक्रमण भएको थियो । आक्रमणको २० मिनेटमै उहाँको मृत्यु भएको थियो ।
क्वालालम्पुर विमानस्थलको सीसीटीभी दृष्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिलाहरू गएको देखिएको छ । त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरुले बताएका छन् ।







































