भक्तपुर ।
उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो ३०औँ अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ।
गोष्ठीमा संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष तथा सभापति न्हुछेबहादुर प्रजापतिले उपसमितिका सदस्यहरूबीचको छलफल, सहकार्य र सक्रियताले हरेक कार्यक्रम सफल हुने उल्लेख गर्नुभयो। उहाँले समय–समयमा सहकारी शिक्षा सञ्चालन गर्दै जोखिमयुक्त ऋणप्रति सचेत भई वित्तीय सुशासन र प्रविधिमैत्री प्रणाली अपनाएर संस्था अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
संस्थाका सचिव दिलप्रसाद प्रजापतिले सहकारी नियमन प्राधिकरणले ल्याएको नयाँ अनलाइन दर्ता प्रक्रियाअनुसार संस्था अघि बढिरहेको जानकारी दिनुभयो। साथै, आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा हाउस वायरिङ तालिम सञ्चालन गरिने बताउँदै अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।
कोषाध्यक्ष शिवराम बोहजूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक मन्दीको अवस्थाबीच पनि देशको आर्थिक तरलता बढिरहेको उल्लेख गर्दै संस्थाको आर्थिक अवस्था सबल रहेको बताउनुभयो। सदस्यलाई प्रत्यक्ष लाभ पुग्ने गरी विभिन्न बचत नीति, व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।
लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले वार्षिक कार्ययोजनाअनुसार काम भइरहेको उल्लेख गर्दै सदस्यहरूको बचत सुरक्षित राख्न ऋणीको चरित्र मूल्यांकन, लगानी जोखिम विश्लेषण तथा विना धितो ऋणप्रति गहिरो अध्ययन आवश्यक रहेकोमा जोड दिनुभयो।
गोष्ठीमा प्रस्तुत विवरणअनुसार संस्थाको कूल सम्पत्ति रु. ५० करोड ८७ लाख ५९ हजार ९४१ रहेको छ भने जगेडा कोषमा रु. ५ करोड ६९ लाख ४७ हजार ६१० रहेको जानकारी सार्वजनिक गरियो।
कार्यक्रममा सञ्चालक सदस्यद्वय बाबुबाजी प्रजापति र कृष्णराम प्रजापति, व्यवसाय प्रवर्द्धन तथा बचत उपसमितिका सदस्य सत्यराम कासिछ्वा, तथा संस्थाका व्यवस्थापक पुण्यराम गोसाई लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।








































