काठमाडौं–नेकपा एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकीकरण गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधवार बिहान भएको छलफलमा तत्काल एकता गर्ने सहमति जुटेको हो ।
एकता प्रयासमा सक्रिय केही नेताहरूसहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकमा सहमति जुटेसँगै सम्भवत बिहीवार नै पार्टी एकताको घोषणा हुनेछ ।
‘सकेसम्म भोलि (बिहीवार)नै, नभए सरकारको नीति तथा कार्यक्रम आउनुअगावै जेठ ६ गतेभित्र पार्टी एकता गर्ने सहमति भएको छ,’ एमाले स्रोतले भन्यो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई यही संसदको पछिल्लो दुई वर्ष प्रधामनन्त्री बनाउने सुनिश्चिततासहित पार्टी एकतामा ‘ब्रेक थ्रु’ भएको स्रोतको भनाइ छ ।
केन्द्रीय समितिमा एमालेका ५६ प्रतिशत र माओवादी केन्द्रको ४४ प्रतिशत सदस्य रहने सहमति भएको स्रोतको भनाइ छ ।
पार्टी एकता गर्ने भन्दै गत वर्षको असोज १७ गते एमाले र माओवादीले वामपन्थी गठबन्धनको घोषणा गरेका थिए । दुई दलले विवादित विषयलाई महाधिवेशनमा लगेर टुंग्याउने गरी फागुन ७ गते पार्टी एकताको सैद्धान्तिक सहमति भएको थियो ।
एकतापछि नेतृत्व दुई अध्यक्षले संयुक्त रूपमा गर्नेछन् । एकताको औपचारिक निर्णय गर्न दुवै पार्टीको स्थायी समितिको बैठक बुधवार ४ बजे बस्दैछ । दुवै दलले बिहीवार केन्द्रीय समिति बैठक बोलाएका छन् ।
पार्टी एकताको निर्णय केन्द्रीय समितिबाट गर्नुपर्ने भएकोले बैठक बोलाइएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
बिहीवार अपराह्न राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन आयोजना गरी पार्टी एकता घोषणाको तयारी छ ।







































