एमालेको काठमाडौंमा शक्ति प्रदर्शन, र्‍यालीले ट्राफिक प्रभावित

0

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान र लोकतन्त्रको संरक्षणका लागि आज राजधानीमा ठूलो प्रदर्शन र र्‍याली आयोजना गरेको छ। भृकुटीमण्डप केन्द्रित जनसभालाई लक्षित गर्दै बिहानैदेखि प्रदर्शनीमार्ग र आसपासका क्षेत्रमा एमाले समर्थकहरूको भीड बाक्लिएको छ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार यो जनसभा पार्टीको देशव्यापी जनपरिचालन अभियानको अन्तिम चरण हो। बागमती प्रदेश कमिटीद्वारा आयोजित र्‍याली प्रदर्शनीमार्गबाट सुरु भई रत्नपार्क परिक्रमा हुँदै भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ। सभामा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि एमालेले कात्तिक २२ गते देशभरका वडामा वडा भेला, २५ गते सबै पालिकामा र्‍याली तथा २९ गते सबै जिल्लामा जनसभा आयोजना गरिसकेको थियो।

ट्राफिकमा चाप, सवारी डाइभर्सन लागू

र्‍यालीका कारण सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा अत्यधिक चाप परेपछि उपत्यका ट्राफिक प्रहरीले सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई पद्मोदय मोड र राष्ट्रिय सभागृह मोडमार्ग हुँदै डाइभर्सन गरिएको छ।
“र्‍यालीका कारण आवागमनमा समस्या भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ,” प्रमुख अधिकारीले बताए।

टुँडिखेल वरिपरिका सडकमा पनि आवागमन प्रभावित हुनसक्ने भएकाले सर्वसाधारणलाई सहज यात्राका लागि अन्य मार्ग रोज्न सुझाव दिइएको छ।