ओली र देउवाले उपप्रम बनाएका कमल थापा कांग्रेसले काँध थाप्दा पनि जोगिएनन्

297

काठमाडौँ : केपी ओली र शेरबहादुर देउवा दुवैको मन्त्रिपरिषद्‍मा उपप्रधानमन्त्री बनाएका कमल थापा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पराजित भएका छन्।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको रुपमा कांग्रेसले काँध हालेका वर्तमान उपप्रधानमन्त्री कमल थापालाई वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालले पराजित गरेका हुन्।

पञ्चायतकालदेखि नै मन्त्री रहँदै आएका थापा राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहमन्त्री समेत भएका थिए। २०७० सालको व्यवस्थापिका संसदको समानुपातिक सदस्य समेत हुन् उनी।

दाहालले २०४८ र ०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर १ बाट कमल थापालाई नै पराजित गरेका हुन्।

प्रवीणता प्रमाणपत्र तहसम्मको औपचारिक अध्ययन गरेका दाहालले राजनीतिक यात्राका क्रममा दुई पटक जेल जीवन बिताएका छन्। २०४२ सालको शिक्षक आन्दोलन र ०५९ को राजाको प्रत्यक्ष शासनका समयमा उनलाई बन्दी बनाइएको थियो। २०४४ मा जनपक्षीय प्रधानपञ्च प्रधानपञ्च बनेका दाहाल हाल एमाले प्रदेश कमिटी सदस्य छन्।