कमलपोखरी भूमाफियाको चँगुलबाट मुक्त ,संरक्षणमा जुटे स्थानीय

563

भक्तपुर । भूमाफियाहरुले आफ्नो नाममा दर्ता गरेको कमलपोखरी उनीहरुको चँगुलबाट मुक्त भएको छ । व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरी अदालतद्वारा सार्वजनिक पोखरी नै कायम हुने फैसलासँगै भूमाफियाको सातो गएको छ ।
अदालतको फैसला सँगै मध्यपुर थिमि नगरपालिकाले उक्त पोखरी संरक्षणका लागि ७५ लाख विनियोजन समेत गरेको छ । हाल उक्त स्थानमा डोजर लगाएर पोखरीको विगतको अवस्थामा फर्काउने कार्य गरिदै आएको स्थानिय रमेश थापा श्रेष्ठ बताउँछन् । नगरपालिकाले यो पोखरी पुन सार्वजनिक भएपछि संरक्षणकालागि छुट्याएको ७५ लाखको स्थानिय बासिन्दाले स्वागत गरेका छन् । पोखरीको संरक्षण गर्दै बोट चलाएर आन्तरिक पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ मध्यपुरथिमि नगरपालिकाले पोखरी संरक्षणकालागि बजेट विनियोजन गरेको हो ।
सयौं वर्ष अगाडिदेखि सार्वजनिक पोखरीको रहेको तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को १५ रोपनी नौ आना सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै बोडे नगदेशका बासिन्दाले व्यक्तिको नाममा गएको सो पोखरी सार्वजनिक रुपमै फर्काइनुपर्ने माग गर्दै अदालत गएका थिए ।
विसं २०४२ असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ माघ २२ गते अधिकृत वारेसनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौँ ठमेल बस्ने ग्ल्याल्पो गुरुङ, तेञ्जी शेर्पिनी, जद्योना गुरुङलाई बिक्री भएको थियो । ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिलाई पनि जग्गा बिक्री गरेका थिए ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले उक्त पोखरी सार्वजनिक पोखरी नै रहने गरी गत साता फैसला गरेपछि नगरपालिका र स्थानीय बासिन्दा पोखरी संरक्षणमा जुटेको हुन् ।
नगरपालिकाले पोखरीको वरिपरि पर्खाल लगाउने, अतिक्रमित जग्गा भए निकाल्ने, पोखरीलाई आकर्षक बनाउने र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने लक्ष्यका साथ काम गरि रहेको छ ।

भूमाफियासँग स्थानीयवासीले कानूनी लडाइँ लडेर सार्वजनिक रुपमा फर्काइएको पोखरीको संरक्षणमा नगरबासी एक जुट भएर लागेका छन् ।
भूमाफिया फेरि सल्बलाए, हामी जवाफ दिनेछौं । नगरवासी भन्छन् । व्यक्तिको नाममा गएपछि पोखरीमा बस्ती बसाल्न डोजर लिएर आएका भूमाफियालाई स्थानीयवासीले पटक(पटक लखेटेका थिए ।