काठमाडौं, माघ १ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले एकपछि अर्को गर्दै साधारण शेयर जारी गर्ने घोषणा गरिरहेका छन् ।
यसै क्रममा सोही कम्पनीको सहायक कम्पनी मध्यभोटेकोसी जलविद्युत् कम्पनीले पनि आगामी दुई महिनाभित्र सीमित साधारण शेयर जारी गर्ने भएको छ ।
सरकारी कर्मचारी तथा आयोजनाका कर्मचारीलाई शेयर दिने गरी आवश्यक तयारी थालिएको आयोजनाले जनाएको छ ।
सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनामा कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत शेयर बिक्री गर्न लागेको हो ।
पहिलो चरणमा २ अर्ब ९४ करोड बराबरको २ करोड ९४ लाख कित्ता साधारण शेयर जारी गर्ने तयारी गरिएको आयोजनाका प्रमुख मणिकुमार काफ्लेले बताए ।
शुरुमा आयोजनामा लगानी गर्ने कम्पनीका कर्मचारीलाई चार प्रतिशत र कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत साधारण शेयर बिक्री गरिनेछ ।
कम्पनीले केही दिन पहिले मात्रै कम्पनी रजिष्ट्रारमा अद्यावधिक विवरण पेश गरिसकेको छ ।
सिन्धुपाल्चोकबासीको पनि लगानी
आयोजनामा सिन्धुपाल्चोकबासीले स्थापना गरेको लगानी कम्पनीले पनि लगानी गरेको छ । इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेर सिन्धुपाल्चोबासीले करिब ३ प्रतिशत लगानी गर्ने सहमति आयोजनासँग यसअघि नै भएको थियो ।
सिन्धुपाल्चोकका केही कम्पनीले कबोल गरेको शेयर उठाउन बाँकी रहेकाले त्यो काम पनि अघि बढेको आयोजना प्रमुखले जानकारी दिए ।
संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत हुन आउने २१ करोड रुपैयाँ २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छुट्याइएको १ प्रतिशत हुन आउने रु ६ करोड को ६ लाख कित्ता सेयर निष्कासन गरिनेछ ।
यो शेयर सञ्चयकोषका सञ्चयकर्ता, त्यहाँ कार्यरत कर्मचारी, विद्युत् प्राधिकरण, चिलिमे र मध्यभोटेकोसीका कर्मचारीले खरिद गर्न पाउनेछन् ।
दोस्रो चरणमा सिन्धुपाल्चोकबासीलाई ६० लाख कित्ता
पहिलो चरणको शेयर निष्कासन तथा बाँडफाँडपछि दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशतमा हुन आउने ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्कासन हुने कम्पनीले जनाएको छ ।
तेस्रो चरणमा सर्वसाधारणलाई ९० लाख कित्ता
आयोजनाले तेस्रो चरणमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत साधारण शेयर जारी गर्ने छ । ९० करोड मूल्यको ९० लाख कित्ता सेयर बिक्री गरिने आयोजनाले जनाएको छ ।
बिक्री प्रबन्धक कम्पनीहरू
मध्यभोटेकोशीले शेयर निष्कासन गर्न ७ मर्चेन्ट बैंकसँग सम्झौता गरी सकेको छ । ती कम्पनीमा ग्लोबल आईएमई क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेका छन् ।
चार वर्षमा ४० प्रतिशत काम
चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरेका अधिकांश आयोजनाको भौतिक प्रगति राम्रो रहेको बेला मध्यभोटेकाशी जलविद्युत् आयोजनाको भने दयनीय अवस्था रहेको छ ।
गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने आयोजना जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण हालसम्म ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । कार्यतालिकाअनुसार आयोजना सन् २०१७ जुनमा निर्माण सक्ने गरी तयारी गरिएको थियो ।
निर्माण व्यावसायीलाई अपेक्षाकृत रुपमा काम गराउन नसक्दा आयोजनाको काममा ढिलाइ भएको हो । संशोधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ ।







































