–प्रकाशचन्द्र खतिवडा
झुत्रे टोपी
च्यातिएको अस्कोट
टालेको दौरा र सुरुवाल
चाउरी गाला
कलेटी परेको ओठ
चरचरी चिरिएको कुर्कुच्चा
नाङ्गै खुट्टाको पदचाप
मलाई याद छ
मेरा बा को सकली रुप ।
बोजु
आमा
र
हामी सात छोरा छोरीको
अभिभावक
साहुको हली
मुखियाको रैती
दुःखको पहाड शिरमा बोकी
चुनौतिका कान्लाहरु पार गर्दै
विसाउनै नसकिने ऋणको ढाकर बोकेर
उकाली चढ्थे मेरा बा ।
बोजु
आमा
र
छोराछोरीको
सपना पूरा गर्न
नुन व्यापारका लागि
हप्ता दिनको खाजा सामल बोकी
अक्करहरु कटेर
अरुण, तमोर पार गरी
दियाले र साँगुरीका
उकाली, ओराली छिचोल्दै
हिउँदै पिच्छे एक ढाकर सुन्तला बोकेर
धरान झर्थे मेरा बा ।
नाफा हुन्थ्यो, हुन्थेन
घर व्यवहार टर्थ्यो टर्थेन
लुगा फाटो
मर मसला
दबाइ पानी पुग्थ्यो, पुग्थेन
पिढीमा बसेर
आमा संग
बा गन्गनाइरहेका हुन्थे
सायद
घर व्यवहारको कुरा होला
ऋण धनको हिसाब होला
अनपढ बा आमा
औला भाँचि भाँचि आधारात विताउँथे ।
पसिनाले लछ्रप्पै भिजेको भोटो
अगेना माथि टाँगेर
भोर्लाको पातमा
लामपाते सुर्ती बेरी
बोजुलाई सञ्चो विसञ्चोको खै गरे पछि
हामीले खाए नखाएको यकिन गर्दै
बल्ल सुर्ती तान्थे मेरा बा ।
हामीलाई
एकपेट ढिडो रोटो खुवाउन नसक्दा
तरक्क आँसु झार्दै
पुर्पुरो छामी
ठेला उठेका हातले
हामीलाई सुम्सुम्याएर
भोलिको सपना देखाउँदै
निःशब्द हुन्थे मेरा बा ।
हाम्रो विश्वास
हाम्रो आत्मबल
हाम्रो भविष्य
हाम्रो भरोसाको केन्द्र
बाजेले आर्जेको औकात जोगाउँदै
हाम्रो जीवन यात्रा सहज बनाउन
बा को जीवन यात्रा दौडिरहेछ तेज गतिमा
बा ले बाजेको ऋण तिर्न सके, सकेनन
बाजेले देखाएको बाटो हिड्न कोशिस गरेकै छन
स्वाभिमानको शिखर उक्लदै
जीवनको अविराम यात्रा जारी राखी
हामीलाई असल बाटो देखाउने
कुशल पथ प्रदर्शक हुन मेरा बा ।
दृढ
धैर्यशाली
अस्थाको धरोहर
साहुसँग प्रतिवाद गर्दै
असामाजिक नियम विरुद्ध बोल्ने
मुखियासँग विद्रोह गरी
रैतीहरुको न्याय दिलाउनलाई
क्रान्तिकारी विचार प्रति प्रतिवद्ध
सामन्ति सत्तालाई चुनौति दिने
युग नायक हुन मेरा बा ।







































