भक्तपुर । परम्परा देखि न्यातापोल मन्दिरको बुसाँदानमा मन्दिरको गजुरमा फहराउने झण्डा यस वर्ष पहिलो तल्लामा फहराईएको छ ।
गुठी संस्थानले कम पैसा दिएको भन्दै अवाले समूदायले झण्डा पहिलो तल्लामा नै फहराई दिएका हुन् ।
न्यातापोल अर्थात पाँच तल्ले मन्दिरमा हरेक बर्ष बुसाँदानको अवसरमा मन्दिरको गजुरमा झण्डा फहराउने परम्परा रहेको छ ।
मन्दिरको निर्माण भएको ३१५ बर्षमा पहिलो पटक मन्दिरको गजुरमा झण्डा नफराईएको हो । हरेक बर्ष मन्दिरको जन्म दिन अर्थात स्थापना भएको दिन प्रतिपदामा पाँच तल्ले मन्दिरको गजुरमा सेतामा रातो झण्डा फहराउँदै आएको छ ।
अवाल समूदायले मात्र उक्त झण्डा न्यातापोल अर्थात पाँच तल्ले मन्दिरमा फहराउने प्रचलन रहि आएको छ । मन्दिरमा झण्डा फहराउने कुरामा गुठी संस्थान र अवालहरुको कुरा नमिल्दा यो बर्ष उनीहरुले पहिलो तल्लामा नै झण्डा फहराई दिएका हुन् ।
आफ्नो माग पुरा नभएको भन्दै उनीहरुले ब्यङग्य स्वरुप झण्डा पहिलो तल्लामा नै फहराएको बताउँछन् । आफुहरुले पहिलो बर्ष नै झण्डा फहराउन दिदै आएको पैसा पर्याप्त नभएको पत्राचार गरेपनि गुठी संस्थानबाट कुनै सुनुवाई नभएका कारण पहिलो तल्लामा नै झण्डा राखिदिएको उनीहरुको भनाई छ ।
झण्डा फहराउने मध्य एक कृष्ण सुन्दर अवाल आफ्नो माग पुरा नभएका कारण आफुहरुले झण्डा पहिलो तल्लामा नै फहराएको सुईकार्छन् । आफ्नो ज्यान नै जोखिममा राखेर पाँच तल्ले मन्दिरको गजुर सम्म पुगेर झण्डा फहराउँनु पर्ने भएका कारण यो बर्ष देखि गुठिले दिदै आएको पैसा २० हजार पुञ्याउनु पर्ने आफूहरुले माग गरेपनि केवल ५ हजार मात्र दिएका कारण आफूहरुले झण्डा पहिलो तल्लामा नै छोडेको उनी बताउँछन् ।
गुठी संस्थानका अनुसार पछिल्ला बर्षमा ४ हजार दिदै आएकोमा यो बर्ष ५ हजार दिएपनि उहाँहरुले आफुले मागे जति पैसा नपाएका कारण पहिलो तल्लामा नै झण्डा छाड्नु भएको गुठीकाप्रमुख हरि सुवेदी बताउँछन् ।
जीउँदो संग्रालयको रुपमा रहेको भक्तपुरमा गुठी संस्थानको लापरवाहीले अवालहरुले पहिलो तल्लामा नै झण्डा छोड्दा कुनै अनिष्ठ हुन सक्ने बुढापाका बताउँछन् । पाँच तल्लेको इतिहाँसमा कहिले पनि यस्तो नभएको बताउँदै उनीहरु अहिले आएर कहि नभएको जात्रा भक्तपुरमा नै देख्न पाएको सुनाउँछन् ।







































