पोखरा । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट सुरु हुँदैछ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको महाधिवेशनले देशभर राजनीतिक तरङ्ग सिर्जना गरेको छ। कांग्रेस स्पष्ट रूपमा दुई कित्तामा विभाजित देखिएको छ भने महाधिवेशन प्रतिनिधि र समर्थकहरू विभिन्न जिल्लाबाट काठमाडौं पुगेका छन्।
महाधिवेशनको उद्घाटन नजिकिँदै गर्दा गण्डकी प्रदेशभित्रको कांग्रेस राजनीति पनि स्पष्ट रूपमा दुई धारमा विभाजित भएको छ। गण्डकीका ११ जिल्लामध्ये जिल्ला सभापतिहरूको समीकरण हाल ‘४–४–३’ को अवस्थामा पुगेको छ, जसले प्रदेश कांग्रेसभित्र गहिरो कित्ताकाट देखाएको छ।
विशेष महाधिवेशनको पक्षमा ४ जिल्ला
विशेष महाधिवेशनको समर्थनमा गण्डकीका चार जिल्ला सभापति खुलेर उभिएका छन्। गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, कास्कीका किशोरदत्त बराल, नवलपुरका महेन्द्रध्वज जिसी र पर्वतका युवराज जोशी महाधिवेशनको पक्षमा रहेका हुन्।
उनीहरूले आफ्ना जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन सार्वजनिक अपिलसमेत गरेका छन्। यी जिल्लामा संस्थापन इतर समूहको प्रभाव बलियो मानिँदै आएको छ।
विपक्षमा ४ जिल्ला
प्रदेशका चार जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै यसको विरोध गरेका छन्। म्याग्दीका खम्बिर गर्वुजा, मनाङका शंकर गुरुङ, बागलुङका जीत शेरचन र स्याङ्जाका राजु थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका हुन्।
उनीहरूको तर्क छ—अहिले विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशनको तयारी र आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई जिताउन केन्द्रित हुनुपर्ने समय हो।
३ जिल्ला अझै अनिर्णीत
विशेष महाधिवेशन सुरु हुन लाग्दासमेत तीन जिल्लाका सभापति तटस्थ देखिएका छन्। लमजुङका डा. टकराज गुरुङ, तनहुँका जीतप्रकाश आले र मुस्ताङका रोमी गौचन थकाली अहिलेसम्म कुनै धारमा खुलेका छैनन्।
१४औँ महाधिवेशनका बेला डा. गुरुङ र आले संस्थापन पक्ष (शेरबहादुर देउवा) निकट मानिन्थे भने गौचन तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल निकट थिए। उनीहरू हाल दुवै पक्षबाट दूरी कायम गर्ने रणनीतिमा देखिएका छन्।
जिल्ला–क्षेत्रबीच देखियो मतभेद
केही जिल्लामा जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिए पनि क्षेत्रीय र पालिका नेतृत्व भने महाधिवेशनकै पक्षमा देखिएको छ। बागलुङमा जिल्ला सभापति विरोधमा रहे पनि निर्वाचन क्षेत्र र पालिका समितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।
यस्तै, तनहुँमा जिल्ला सभापति तटस्थ रहँदा क्षेत्रीय समितिहरूले विशेष महाधिवेशनलाई समर्थन जनाएका छन्। यसले जिल्ला र क्षेत्रीय नेतृत्वबीचको आन्तरिक द्वन्द्व सतहमा आएको देखाएको छ।
५६ प्रतिशत प्रतिनिधिको समर्थन दाबी
विशेष महाधिवेशन पक्षधर समूहले गण्डकी प्रदेशबाट करिब ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन रहेको दाबी गरेको छ। यसअघि विशेष महाधिवेशनको मागपत्र बुझाउँदा गण्डकीबाट २७१ जना प्रतिनिधिको हस्ताक्षर संकलन भएको थियो।
यद्यपि, गण्डकी प्रदेश कार्यसमितिले संस्थागत रूपमा कुनै ह्विप जारी गरेको छैन। प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछानेका अनुसार प्रदेश समितिले औपचारिक आह्वान नगर्ने नीति लिएको छ। तर प्रदेश सभापति शुक्रराज शर्माले सार्वजनिक गरेको अवधारणापत्रले विशेष महाधिवेशनलाई नैतिक समर्थन दिएको संकेत गरेको छ।
प्रदेश उपसभापति मेखलाल श्रेष्ठ भने विशेष महाधिवेशनको स्पष्ट विपक्षमा उभिएका छन्।
विशेष महाधिवेशनले गण्डकी कांग्रेसलाई लगभग आधा–आधा हिस्सामा विभाजित गरेको देखिएको छ। यसले पार्टीको आगामी संगठनात्मक र राजनीतिक गतिविधिमा गम्भीर असर पार्ने कांग्रेस वृत्तको विश्लेषण छ।







































