काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ। कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट नजिकै राखिएका स्टलहरूबाट नामावली दर्ता सुरु गरिएको जिल्ला तथा क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी दिनुभयो।
विशेष महाधिवेशनको औपचारिक उद्घाटन आज दिउँसो १ बजे हुने तय भएको छ। महाधिवेशनमा कुल प्रतिनिधिमध्ये करिब ६० प्रतिशत सहभागी हुने आयोजक पक्षको दाबी छ।
उद्घाटनअघि बिहान ११ बजे काठमाडौँका सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत विभिन्न स्थानमा नेता–कार्यकर्ता भेला भई र्यालीसहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अट्ने गरी मञ्च निर्माण गरिएको छ। मञ्चअगाडि खुला चौर क्षेत्रमा छ हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताउनुभयो। मञ्च वरिपरि कांग्रेसका झण्डा, गेट, ब्यानर तथा प्रचार सामग्री राखेर सजाइएको छ।
विशेष महाधिवेशनको सभापतित्व नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ। महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन। मुलुकभरबाट सहभागी हुन आउने अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको आयोजक समितिले जनाएको छ।
महाधिवेशन प्रतिनिधिहरूका लागि कार्यक्रमस्थलमै खाना तथा नास्ताको व्यवस्था गरिएको छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा ३ हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको छ। साथै आवश्यक परे थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन गर्न सकिने प्रबन्ध गरिएको छ।
विशेष महाधिवेशनको उद्घाटन सत्रपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपस्थित सभाहलमा सञ्चालन हुनेछ। बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका विषयमा भने हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन।






































