भक्तपुर : बजारमा साल (अग्राख) को काठ नपाइँदा भूकम्पले भत्काएका भक्तपुरका सम्पदाको पुनर्निर्माण प्रभावित भएको छ । अग्राख काठ नपाइँदा पुर्ननिर्माण भइरहेका सम्पदाको कामसमेत रोक्नुपरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । अग्राख काठको लागि अग्रीम रकम दिँदा पनि नेपाल टिम्बर कर्पोरेसन (टीसीएन) बाट काठ उपलब्ध हुन नसकेको उनको गुनासो थियो । उनका अनुसार अघिल्लो वर्ष नै कर्पोरेसनलाई काठको लागि ३५ लाख रुपैयाँ अग्रीम उपलब्ध गराइएको थियो ।
‘अग्राख काठ नहुँदा सम्पदा पुनर्निर्माण कार्य नै रोक्न परेको छ’, प्रमुख प्रजापतिले भने, ‘सम्पदालाई आवश्यक पर्ने ठूला साइजका अग्राख काठ त झनै पाउन सकिएको छैन ।’ उनले नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्दा पनि अग्राख काठ, ढुंगा, निर्माण सामग्रीलगायतको अभावले सम्पदा पुनर्निर्माण चुनौतीपूर्ण बन्दै आएको सुनाए ।







































