काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न

0

काठमाडौँ । काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बाँनियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि बाँनियाले देशको आर्थिक गतिविधिलाई सुदृढ बनाउन ढुवानी व्यवसायलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको बताए। ढुवानी व्यवस्था प्रभावकारी नहुँदा मुलुकले गम्भीर अप्ठ्यारो भोग्नुपर्ने अवस्था आउने उल्लेख गर्दै उनले यस क्षेत्रको सुधार र कार्यान्वयनका लागि स्थानीय सरकारलाई समेत सक्रिय भूमिका खेल्न आग्रह गरे। साथै, जेन्जी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त सवारी साधनहरूलाई चालु आर्थिक वर्षका लागि कर छुट दिने निर्णय गरिएको जानकारी पनि दिए।

उनले भने, “आजको दुनियाँमा ढुवानी व्यवस्था प्रभावकारी नहुँदा मुलुकले धेरै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको छ। ढुवानी व्यवस्था प्रभावकारी हुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि अगाडि बढाउन सकिन्छ। त्यसैले ढुवानी व्यवसाय राष्ट्रका लागि आवश्यक र अपरिहार्य व्यवसाय हो। यस क्षेत्रले भोगिरहेका समस्याहरूलाई चरणबद्ध रूपमा समाधान गर्नुपर्छ।”

संघका अध्यक्ष पुष्पराज श्रेष्ठले ढुवानी व्यवसाय देशको मेरुदण्ड भएको बताए। संघले दुर्गम तथा ग्रामीण क्षेत्रसम्म समयमै र प्रभावकारी रूपमा सामान पुर्‍याउने उद्देश्यसहित काम गर्दै आएको उल्लेख गर्दै उनले संस्थाले सामाजिक कार्यलाई पनि विशेष प्राथमिकता दिएको जानकारी दिए। साथै, सामान ओसारपसारका क्रममा ढुवानी व्यवसायीहरूले अनावश्यक दुःख भोग्नुपरेको भन्दै सरकारसँग स्पष्ट र एकीकृत ढुवानी ऐन तथा कार्यविधि सुनिश्चित गर्न आग्रह गरे।

कार्यक्रममा बागमती प्रदेश सांसद उद्दव थापा, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारीलगायत वक्ताहरूले ढुवानी व्यवसायलाई थप मर्यादित, सुरक्षित र व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।