काठमाडौँमा बाँसुरी निर्माण कार्यशाला सम्पन्न: परम्परा र आधुनिकताको संगम

1

काठमाडौं । काठमाडौँ उपत्यकाको नेवारी समुदायमा बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै ‘हङ्ग्री म्युजिसियन टेरेस’मा बाँसुरी निर्माण कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। साउन्डबज अडियो ल्याब र नेपाल इको प्यानलको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले रैथाने शिल्प र आधुनिक सामग्रीबीचको संयोजनलाई जोड दिएको छ।

कार्यक्रममा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले भक्तपुरको दीर्घकालीन पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भक्तपुरको विकासको आधार नै पर्यटन भएकाले यस्ता गतिविधिहरूलाई अझ प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा बोल्दै साउन्डबज अडियो ल्याबका संस्थापक चन्दन ताम्रकारले कार्यशालाको आवश्यकतामाथि प्रकाश पार्नुभयो। उहाँका अनुसार हाल काठमाडौँ उपत्यकाको नेवारी समुदायमा परम्परागत काठको बाँसुरीको स्थान पिभिसी पाइपबाट बनेका बाँसुरीले लिन थालेको छ।

“परम्परालाई जीवित राख्न वाद्ययन्त्र बनाउने कलाकारहरूको ठूलो भूमिका हुन्छ,” ताम्रकारले भन्नुभयो। “हामीले भारतबाट आउने बाँसुरीमा निर्भर हुनुभन्दा आफ्नै युवाहरूलाई दक्ष बनाएर यहीँ आत्मनिर्भर बनाउनुपर्छ। पिभिसी पाइपबाट बनेको बाँसुरीको नयाँ टोन अहिले व्यावसायिक रूपमा स्थापित हुँदै गएको छ, जसले नेवारी संस्कृतिलाई विश्वव्यापी रूपमा फैलाउन मद्दत गर्नेछ।”

उहाँले थप्नुभयो, “यस्ता कार्यशालाले यहाँ आउने पर्यटकहरूलाई नेवारी संस्कृति र कला नजिकबाट सिक्ने अवसर प्रदान गर्छ, जसले दिगो पर्यटनमा पनि टेवा पुग्छ।”

कार्यशालाको मुख्य प्रशिक्षण प्रख्यात बहु–वाद्यवादक तथा बाँसुरी वादक अमन मालीले दिनुभएको थियो। ‘कुमा सागर एन्ड द ख्वप ब्यान्ड’का सदस्य माली शास्त्रीय, लोक तथा ज्याज फ्युजन संगीतमा आफ्नो विशेष पहिचान बनाउन सफल कलाकार हुन्। उहाँ परम्परागत संगीतलाई आधुनिक ध्वनिसँग संयोजन गर्न खप्पिस मानिनुहुन्छ।

कार्यशालामा सहभागीहरूलाई बाँसुरी निर्माणका प्राविधिक विधिहरू, बाँसुरी ट्युनिङ (सही स्वर र ताल मिलाउने तरिका) , बाँस र पिभिसी पाइपबाट बाँसुरी बनाउने प्रविधि ,हावाबाट बज्ने वाद्ययन्त्रको आधारभूत सिद्धान्त (ध्वनि विज्ञान), कार्यशालामा ‘कुमा सागर एन्ड द ख्वप ब्यान्ड’का सदस्यहरू तथा सुमन गैडा, अमन बज्राचार्य र उजन शाक्यलगायत बाँसुरी वादकहरूको सक्रिय सहभागिता रहेको थियो।

“ज्ञान एक्लै राख्नका लागि होइन, बाँड्नका लागि हो” भन्ने सन्देशका साथ सम्पन्न उक्त कार्यशालाले नेपालमा नयाँ पुस्ताका बाँसुरी निर्माता तथा वादकहरू उत्पादन हुने र हाम्रो मौलिक बाजाको भविष्य सुरक्षित हुने विश्वास गरिएको छ।