काभ्रे । सङ्घीयताको विविध पक्षबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय स्तरको अध्ययन केन्द्र निर्माण गरिने भएको छ । सरकारले काभ्रेको नमोबुद्ध नगरपालिका वडा नंं ।–२ फूलबारीमा सङ्घीयता अध्ययन केन्द्र निर्माण गर्ने भएको हो ।
नमोबुद्ध नगरपालिकाको साविक फूलबारी गाविसको ७५८ रोपनी क्षेत्रफलमा केन्द्रको कार्यलय निर्माण गर्न गृहकार्य शुरू गरिएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको तालिम केन्द्रलाई विस्तार गर्दै निर्माण हुन लागेको त्यस तालिम केन्द्रले अन्तर्राष्ट्रिय स्तरको अध्ययन केन्द्रको रूपमा काम गर्नेछ ।
नेपालमा सङ्घीयता शिशुवस्थामा रहेको र सङघीयता कार्यान्वयनका क्रममा आईपरेका समस्या समाधानका लागि आवश्यक परामर्श, तालिम र अध्ययन अनुसन्धानका लागि नमोबुद्धमा केन्द्र निर्माण गर्न लागिएको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।
केन्द्र निर्माणको प्रस्ताव राष्ट्रिय योजना आयोगको प्राथमिकता प्राप्त योजनामा समाबेश भएको छ । वातावरण मन्त्रालयबाट यसको सम्भाव्यता अध्ययन स्वीकृतसमेत भइसकेको छ । शहरी विकास तथा भवन विभागसँग पनि संभाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रस्ताव तयार गर्ने लगायतका विषयमा सम्झौता भइसकेको छ ।
वैशाखको तेस्रो सातासम्म विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माणका लागि परामर्शदाता नियुक्ति गरिने र योजनाको डीपीआर निर्माण भएपछि भौतिक रूपमा काम शुरू हुने प्रतिष्ठानका अध्ययन निर्देशक वसन्तराज सिग्देलले जानकारी दिए ।
उनका अनुसार आवासीय सङ्घीयता अध्ययन केन्द्रले नेपालको सङ्घीयताको क्षमता विकास, सङ्घ, प्रदेश र स्थानीय सरकारकाबीच आवश्यक समन्वय, सहजीकरण, प्राकृतिक स्रोतको व्यवस्थापन र बाँडफाँट, संविधानले तीन तहका सरकारलाई दिइएका अधिकार र साझा अधिकारका बारेमा आवश्यक अध्ययन, अनुसन्धान र परामर्श प्रदान गर्नेछ ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा (तिमल्सिना) ले सङ्घीयता अध्ययन केन्द्र निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएर सहयोग गरिसकेको र छिटो केन्द्र निर्माण हुनुपर्ने बताए ।







































