भक्तपुर । नेपाली कांग्रेसका सक्रिय नेता किरण न्यौपाने कांग्रेसलाई भक्तपुरको पहिलो पार्टी बनाउने अभियानमा निरन्तर सक्रिय रहनुभएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ३ मा २०३१ सालमा जन्मिनुभएका न्यौपानेले २०४७ सालदेखि राजनीतिक जीवन सुरु गर्नुभएको हो।
वडा नेविसंघको वडा सदस्यबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका न्यौपानेले क्रमशः गाउँ समिति, क्षेत्रीय समिति हुँदै नेविसंघको जिल्ला अध्यक्ष, नेविसंघ केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो। त्यसपछि पार्टीको गाउँ वडा समिति, गाउँ समिति सचिव, भक्तपुर क्षेत्र नम्बर १ का कार्यवाहक सभापति, सचिव तथा उपसभापति हुँदै हाल नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको सहसचिवको रूपमा कार्यरत रहनुभएको छ।
नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट जिल्ला समिति भक्तपुरको सदस्यमा निर्वाचित हुनुभएका न्यौपाने मिति २०७५ भदौ ५ गते सहसचिवमा मनोनित हुनुभएको थियो। हाल उहाँ नेपाल बारका केन्द्रिय सदस्य रहनु भएको छ ।
२०६२/०६३ सालको प्रतिगमनविरुद्धको जनआन्दोलनका क्रममा मिति २०६२ माघ ६ गते पक्राउ परि नजरबन्दमा राखिनुभएका न्यौपानेलाई २०६२ फागुन ४ गते अदालतको आदेशअनुसार तत्कालीन सरकारले रिहा गरेको थियो।
नेविसंघबाट सुरु भएको राजनीतिक यात्रालाई निरन्तर अघि बढाइरहनुभएका न्यौपाने यस प्रतिनिधिसभा सदस्य भक्तपुर क्षेत्र नम्वर १ मा उम्मेदवारी दिनुभएको छ।
नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत रहनुभएका किरण न्यौपाने संगठन सुदृढीकरण, लोकतन्त्रको संरक्षण र कांग्रेसलाई जनताको बलियो विकल्पका रूपमा स्थापित गर्ने लक्ष्यका साथ राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।








































