गलत तथ्यांक देखाएर अत्याँउदै क्षयरोग केन्द्र

481

काठमाडौं ।
नेपालमा क्षयरोग सर्ने दर, क्षयरोगीको वास्तविक संख्या, क्षयरोगबाट मर्नेहरुको संख्या एकिन नभएपनि सरकारको राष्ट्रिय क्षयरोग केन्द्रले भने अन्दाजको भरमा ‘दैनिक १ सय २० जनालाई क्षयरोग लाग्ने गरेको दैनिक २० जना मर्ने गरेको’ डरलाग्दो तथ्यांक देखाएर सर्वसाधारणलाई अत्याउने गरेकोे पाइएको छ ।
नेपालका क्षयरोगीको उपचारमा सहयोग पुगोस भनेर नर्वेका मुटुरोगी र क्षयरोगीहरुको संस्था (नर्वेजियन हार्ट एण्ड लंग्स एशोसियसन—एलएचएल) ले दिएको अनुदानमा केन्द्रले विहीबार र शुक्रबार नगरकोटको एउटा होटेलमा केही पत्रकारलाई लगेर सो तथ्यांक र्सावजनिक गरेको हो ।
केन्द्रले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा हरेक वर्ष ४३ हजार ८०० क्षयरोगी थपिने गरेको र ७ हजार ३०० जना मर्ने गर्छन । सो तथ्यांक अनुसार क्षयरोग लागेर मर्नेको संख्या घटाउँदा पनि हरेक वर्ष ३६ हजार ५०० जना क्षयरोगीहरु थपिने गरेका छन् । २० वर्षको अवधिमा सो संख्या ७ लाख ३० हजार पुग्न गएको छ ।
त्यसैगरि खकारमा क्षयरोगको किटानु भएको एकजना क्षयरोगीले एकवर्षको अवधिमा १५ जना स्वच्छ व्यक्तिमा क्षयरोग सार्ने केन्द्रका तिनै चिकित्सक बताउँछन । त्यो कुरा पत्याउने हो भने नेपालमा क्षयरोग नलागेका कोही पनि भेटिन मुस्किल पर्छ ।
सन् १९९० ताका नेपालमा एचआइभि एड्सको अवस्था भयावह छ भनेर सर्वसाधारणलाई अत्याएर विदेशी अनुदान भित्र्याइ व्यापक दुरुपयोग गरेजस्तै केन्द्रले पछिल्लोपटक क्षयरोगको गलत तथ्यांक देखाएर सर्वसाधारणलाई अत्याउने गरेको यसक्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी बताउँछन ।
क्षयरोगको भयावह स्थिति देखाउँदै सर्वसाधारणलाई अत्याँएपछि यही निहुँमा केन्द्रका अधिकारी विदेश घुम्न जान पाउने भएकोले यस्तो अफवाह फैलाउने गरेको नाम नबताउने शर्तमा केन्द्रमा कार्यरत एकजना स्वास्थ्यकर्मी बतउााछन ।
हरेक १०÷१० वर्षमा गर्नुपर्ने क्षयरोगको अवस्थाबारे नेपालमा सर्वेक्षण (प्रिभिलेन्स सर्भे) नगरिएको २० औं वर्ष भइसकेको छ । तीनवर्षअघि अर्थात सन् २०१५ देखि शुरु गरी २०१७ मा सकिनुपर्ने सो सर्वेक्षणको लागि आवश्यक पर्ने सवारी साधन, एक्सरे मेशीन, टिसर्ट लगायत विभिन्न औजार, उपकरण र अन्य सामाग्री खरीद गर्दा व्यापक आर्थिक अनियमितता भएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिराखेको छ । यसमा संलग्न भएको आरोपमा केन्द्रका पुर्व निर्देशक डा.विकास लामिछानेलाई स्वास्थ्य मन्त्रालयले सरुवा समेत गरिसकेको छ ।