काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। आइतबार मध्यरातदेखि लागू हुनेगरी नेपाल आयल निगमले प्रतिलिटर पेट्रोलमा ३ र डिजेल तथा मट्टितेलमा २/२ रुपैयाँले मूल्य घटाएको हो।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य ११० पुगेको छ भने डिजेलको मूल्य ९३ कायम हुनेछ।
हाल पेट्रोलको प्रतिलिटर मू्ल्य ११३ छ भने डिजेलको मूल्य ९५ रहेको छ।
८ महिनापछि घट्यो मूल्य
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ। खासगरी अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण नेपालमा पनि पेट्रोलियमको मूल्यवृद्धि हुन्छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७३ अमेरिकी डलर पुगेको छ।
पेट्रोलियम पदार्थमा गत ८ महिनादेखि मूल्य बढिरहेको छ। गत कात्तिकमा ७४ रुपैयाँ प्रतिलिटर रहेको डिजेलको मूल्य त्यसयता घटेको छैन। पेट्रोलको मूल्य भने गत कात्तिकदेखि फागुनमा एकपटक मात्र घटेको अवस्थाबाहेक बढिरहेको छ। पछिल्लो पटक पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एकैपटक ३/३ रुपैयाँले बढेको थियो.







































