भक्तपुर । नेपाल मजदुर किसान पार्टी ताथलीले बिहीबार ताथलीमा घरदैलो कार्यक्रम गरेको छ । आसन्न प्रतिनीधिसभा र प्रदेश सभाको चुनावअन्तर्गत नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं. १ र प्रदेशसभाका उम्मेदवार निरज लवजूसहितको उपस्थितिमा ताथलीमा घरदैलो गरेको हो ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको फैढोका चोकबाट सुरु भएको सो घरदैलोअन्तर्गत कासुला टोल, साखकर्मी टोल, गिरी टोल, दलित बस्ती, बाला टोल, राउत टोल, खत्री–खड्का टोल– बनमाला टोल, ताथली पुल, ढुंगेन, एम्बुलेन्स चोक, हात्तीगांैडा, भञ्ज्याङ, चारघरे टोल, पूजारी टोल, दशैंघर टोल, ताथली पुल, गोठालेचौर, खड्का–देउजा टोल, खड्का टोल, माथिल्लो सौडोल, गिरी–खड्का–बस्नेत टोल, छुका– बासुकला टोल, देवीस्थान टोलका घरघरमा पुगेर उम्मेदवारहरु तथा पार्टीका कार्यकर्ता र समर्थकहरुले भोट मागेका थिए ।
उम्मेदवारहरुले मतदातासँग प्रत्यक्ष भेटघाट गरी नेपाल मजदुर किसान पार्टीले देश र जनताको पक्षमा विगतमा खेलेको भूमिकाबारेमा जानकारी दिँदै आगामी दिनमा पनि शसक्त भूमिका निभाएर जनताको पक्षमा नीति बनाउन प्रतिवद्धता व्यक्त गर्दै नेमकिपालाई जिताउन आग्रह गरेका थिए ।
आफ्नै घरआँगनमा उम्मेदवार आएपछि निक्कै उत्साहित भएका मतदाताहरुले उम्मेदवारहरुलाई फूलमाला, खादाले स्वागत गरेका थिए । उनीहरुले नेपालको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीले जित्नुपर्ने बताएका थिए ।
घरदैलोमा पुगेका उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने नेपाल ी काँग्रेस, एमाले र माओवादीबाट उम्मेदवार बनेका नेतालाई भोट माग्ने अधिकार नभएको बताउँदै भोट माग्न आउँदा भारतीय विस्तारवादसामु लम्पसार किन पर्यौ ? भनी प्रश्न सोध्नुपर्ने बताए । ‘सरकारमा जानका लागि मात्र चुनाव जित्न खोज्ने नेपाली कांग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले गठबन्धनका उम्मेदवारहरु नमस्कार गरी भोट माग्न आउँदा जनतालाई अफ्ठ्यारो पर्ने गरी भारतीय विस्तारवादले नाकाबन्दी गर्दा किन चुइँक्क नबोलको, विस्तारवादसामु किन लम्पसार परेको भनी प्रश्न सोधौं’ उनले अनुरोध गरे, ‘त्यसको चित्तबुझ्दो र सही जवाफ दिए मात्र उनीहरुलाई भोट दिन्छौं, अन्यथा हामी त नाकाबन्दीको बेलामा पनि नडराइकन देशहितमा बोल्ने नेमकिपालाई भोट दिन्छौं भनी भन्नुपर्छ ।’
घरदैलोको क्रममा प्रदेशसभाका उम्मेदवार निरज लवजूले मतदाताले निक्कै सोच विचार गरी, कोहीको धम्कीमा नपरी, लोभमा नपरी मतदान गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । उनले नेपाल मजदुर किसान पार्टीले चुनावलाई जनताको सेवा गर्ने अवसरको रुपमा उपयोग गरेकोले आफू जनताको सिपाही भएर जनताकै पक्षमा लड्ने प्रतिवद्धता जनाउँदै भ्रष्टाचारमुक्त प्रदेश बनाउनका लागि आफू लाग्ने बताए । ‘चुनावको क्रममा एमाले, माओवादी, नेपाली काँग्रेसले मतदाताहरुलाई विभिन्न प्रलोभन देखाउने, धाकधम्की देखाउने, प्रभावमा पार्ने जस्ता निर्वाचन आचारसंहिताविपरीतका कामहरु गर्ने गरेका छन्, तिनीहरुलाइ जिताएका् खण्डमा जनताले दुःख पाउने छ ।’ उनले भने ।
मतदाताको अमूल्य भोटले देश निर्माणको आधार थपिनुका साथै देश रहने वा नरहने भन्ने निक्र्योल हुने चर्चा गर्दै उम्मेदवार लवजूले भोट बेच्ने मान्छे र आफ्नै सन्तान बेच्ने आमाबुवा समान भएको बताउँदै भोट बेचेर देश नबन्ने पनि दोहो¥याए । ‘हामीले जिताउने भनेको जनताका असली उम्मेदवारहरुलाई हो, जनताका उम्मेदवार भनेका नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरु हुन् भन्ने कुरा नेपाल मजदुर किसान पार्टीबाट जनप्रतिनीधि बनेका व्यक्तिहरुले खेलेको भूमिकाबाट प्रष्ट हुन्छ, यसैले हामीले नेमकिपालाई जिताउनुपर्छ ।’ उनले जोड दिए ।
घरदैलो अन्तर्गत खत्री–खड्का टोल, पूजारी पाटी, फैढोका चोक र सौडोल चोकमा कोणसभा आयोजना गरिएको थियो । कोणसभामा पार्टीका तर्फबाट नारायणभक्त न्हेमाफूकी, घनश्याम खड्का, हरिसुन्दर छुकांलगायतले पार्टीको योगदानबारेमा चर्चा गरेका थिए ।







































