भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालयको सहकार्यमा सञ्चालन गरिएको गो लोकल अभियान अन्तर्गत माघे संक्रान्तिको अवसरमा घ्यःचाकु सल्हु सांस्कृतिक तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम संस्कृतिविद् विनोदराज शर्मा र पोषणविद् डा. अरुणा उप्रेतीको आतिथ्यतामा सम्पन्न भएको हो। सो अवसरमा पोषणविद् डा. उप्रेतीले नेपाली समाजका विभिन्न समुदायमा प्रचलित परम्परागत खानेकुराहरूको आफ्नै विशेषता र गहिरो वैज्ञानिक आधार रहेको बताउनुभयो। उहाँले पश्चिमी समाजमा समयअनुसार खानपान परिवर्तन भए पनि पूर्वीय दर्शनमा आधारित हाम्रो समाजमा परम्परादेखि सेवन गरिँदै आएका खाद्य परिकारहरू स्वास्थ्यका दृष्टिले उपयोगी रहेको उल्लेख गर्नुभयो।
डा. उप्रेतीले पश्चिमी विज्ञापन र व्यापारिक प्रभावका कारण परम्परागत खानेकुरा छाडेर आयातित तथा रिफाइन गरिएको तेल र घिउ प्रयोग गर्दा विभिन्न रोगको जोखिम बढेको जानकारी गराउनुभयो। परम्परागत रूपमा प्रयोग हुँदै आएको तोरीको तेल र घरेलु घिउको सट्टा अन्य तेल तथा औद्योगिक घिउ प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर परेको उहाँको भनाइ थियो। साथै उहाँले घिउ–चाकु सेवनबाट शरीरमा हुने फाइदाबारे समेत जानकारी गराउनुभयो।
त्यसैगरी संस्कृतिविद् विनोदराज शर्माले घ्यःचाकु खानुको सांस्कृतिक महत्व र चाकुका विभिन्न परिकारमध्ये छ्वालु चाकु खाने परम्पराबारे प्रकाश पार्नुभयो। उहाँले माघे संक्रान्तिका अवसरमा खाने कन्दमूल तथा सागसब्जीको सांस्कृतिक महत्वबारे पनि जानकारी दिनुभयो।
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले परम्परागत उद्योगलाई सम्बन्धित सरकारी निकायमा दर्ता गरी सञ्चालन गरेमा संघ, प्रदेश तथा स्थानीय सरकारबाट विभिन्न सेवा तथा सुविधा लिन सकिने बताउँदै उद्यमीहरूलाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो।
गो लोकल कार्यदलकी सदस्य रमिला दुवालले घ्यःचाकु सल्हुको महत्व, सो समयको परम्परागत खानपान र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो। भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले गो लोकल अभियानको उद्देश्य र गतिविधिबारे जानकारी गराउनुभयो भने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले घ्यःचाकु सल्हुको अवसरमा सांस्कृतिक संवादको औचित्यमाथि प्रकाश पार्नुभयो।
गो लोकल कार्यक्रमका संयोजक विरेन्द्र जतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सह–संयोजक रामसुन्दर भेलेले संवाद कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।






































