चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने : मन्त्री श्रेष्ठ

23
चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने बताउनुभएको छ ।
मन्त्रालयको चितवन स्थित कार्यालयको भ्रमण, अनुगमन तथा चितवन राष्ट्रिय निकुञ्जको अवलोकनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
बागमती प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार तथा अभिलेखीकरणको अभावका कारण यहाँ आन्तरिक तथा वाह्र्य पर्यटकहरूको कमी भएको बताउँदै उहाँले पर्यटक बढाउन हाम्रा कार्यालयहरू तथा पर्यटन व्यवसायीहरूले हाम्रा गन्तव्यहरूको प्रचार प्रसार समेतमा ध्यान दिनु पर्ने बताउनुभएको थियो ।
यस्तै चितवनको सौराहा स्थित पर्यटन कार्यालयका प्रमुख प्रेम प्रसाद ढकालले कार्यालयले प्रदान गरी रहेको सेवा तथा पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो । उहाँले चितवनमा कसरी पर्यटक बढाउन सकिन्छ भन्ने हेतुका साथ आफूहरू यहाँका पर्यटन व्यवसायी, होटेल व्यवसायी लगायत सरोकारवालाहरूसँग सहकार्यमा विभिन्न प्रचार प्रसार तथा समस्याका विषयमा छलफल गर्दै समस्या समाधानका बाटोमा अगाडी बढिरहेको समेत जानकारी दिनुभएको थियो ।