याङचेङ: चीनको जिअंगसु प्रान्तस्थित याङचेङ शहरमा रहेको औद्योगिक क्षेत्रमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।
सिन्ह्वाका अनुसार विस्फोटमा घाइते भएका ६४० जनाको अस्पतालमा उपचार भइरहेको छ। ९० जनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ।
विस्फोटका कारण चीनमा २.२ म्यागनिच्यूडको भूकम्प गएको त्यहाँको भूगर्भ विभागले उल्लेख गरेको छ।
यस घटनालाई चीनको औद्योगिक इतिहासकै दुखद् घटनाका रुपमा लिइएको छ।
स्थानीय रासायनिक मल उत्पादन गर्ने कम्पनीमा विस्फोट हुँदा अन्यत्र समेत आगो फैलिएको अधिकारीहरुले बताएका छन्।
शक्तिशाली विस्फोटका कारण नजिकै रहेको दुई भवनहरुसमेत भत्किएको बताइएको छ।
आगलागी नियन्त्रणमा लिनका लागि ८६ अग्नि नियन्त्रक गाडी घटनास्थलमा प्रयोग गरिएको थियो।
प्रहरीले विस्फोटबारे थप अनुसन्धान गरिरहेको छ।










































