काठमाडौं . यो वर्ष चैतेदसैं र रामनवमी एकैदिन परेको छ । शनिबार बिहान ८ः४६ सम्म अष्टमी र त्यसपछि नवमी लाग्ने पञ्चांगहरूले बताएका छन् ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा विष्णुको सातौँ अवतार मानिने श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको बिस्वास गरिँदै आएको छ ।
सोहीअनुसार आजको दिन नै दुबै चार्ड परेकापनि बिहान शक्तिस्वरूपमा भगवतीको उपासना गरिन्छ भने दिउँसो भगवान् रामको आराधना गरिन्छ। ‘रामको पूजा भने मध्याह्नमा गर्नुपर्ने बताइएको छ’, । ‘रामको जन्म मध्याह्नमै भएको शास्त्रमा उल्लेख छ।’
बिहान देवीको आराधना गरी दिउँसो रामचन्द्रको पूजाअर्चना गर्न सकिने धर्मशास्त्रीहरूले उल्लेख गरेका छन् ।
पुराणविद्का अनुसार मध्याह्नव्यापिनी नवमी तिथिमा श्रीरामचन्द्रको जन्म भएकोले सोही अनुसार उपवास बस्ने विधान रहेको हो। ‘अष्टमी बितेर अघिल्लो दिन पनि मध्याह्नव्यापिनी नवमी र अर्को दिन पनि मध्याह्नव्यापिनी भए दोस्रो दिनको मध्याह्नव्यापिनी नवमी उपासना गर्ने विधान पुराणमा उल्लेख छ ।
त्यस्तै धर्मशास्त्रका अनुसार, चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै नौदिनसम्म शक्तिको उपासना गर्ने परम्परा छ। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।
चैतेदशैँको अवसरमा उपत्यकालगायत देशभरका विभिन्न शक्तिपीठहरुमा घुइँचो लागेको छ। रामनवमी को अवसरमा पनि आजकै दिन बिहानैदेखि राममन्दिरहरू पनि श्रद्धालुले भरिएका छन्।







































