काठमाण्डौं
शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलले जथाभावी शुल्क नलिन निजी व्द्यिालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् ।
‘शिक्षा क्षेत्र उच्चतम मुनाफा कमाउने क्षेत्र होइन’ निजी तथा आवसीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय सचिवालयद्वारा बुधबार काठमाण्डौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पोखरेलले भने ‘मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिनु ।’
विद्यार्थीहरुलाई पुस्तकको भारी बोकाएर शैक्षिक स्तर नबढ्ने मन्त्री पोखरेलले भने ‘बिद्यार्थीले बोक्नैं नसक्नेगरी अव्यवहारि ढंगले पुस्तक किन्न लगाउनु गलत हो’
नियम विपरीत शैक्षिक शुल्क उठाएको गुनासोहरु आएका बताउदैं पोखरेलले यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिँदै भने ‘ सामाजिक न्यायमा आधारित रहेर काम गर्नुहोला ।’
निजी, सहकारी र सार्वजानिक तीनैवटा निकायसंग सहकार्य गर्न शिक्षा मन्त्रालय तयार रहेको मन्त्री पोखरेलको भनाई थियो । समुदायमा आधारित शिक्षा हुनुपर्ने बताउँदै उनले बैसाखको पहिलो साताबाट वृहत बिद्यार्थी भर्ना अभियान शुरु गरिने बताए ।
कार्यक्रममा प्याब्सनद्धारा मन्त्री पोखरेललाई सम्मान गरिएको थियो । मन्त्रीकै सममानमा आयोजित कार्यक्रममा उल्टै मन्त्री पोेखरेलले नीजि विद्यालय सञ्चालकहरुलाई कडा निर्देशन दिएपछि उनीहरु रातोपिरो बनेका थिए ।








































