Home निर्वाचन ‘जागिर खाउँ कि क्रान्ति गरौं’ भन्ने दुविधामा युवाहरु : बिजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(का.रोहित) ले युवाहरुमा जागिर खाउँ कि क्रान्ति गरौं भन्ने दुविधा रहेको बताएका छन् ।
पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघको स्थापना दिवस(असोज३) को अवसरमा आयोजित विचार गोष्ठीमा अध्यक्ष बिजुक्छेंले युवाहरुमा दुविधा भएको कारण नेपालमा क्रान्ति हुन नसकेको बताएका हुन् ।
‘समाजवादको गन्तव्य र युवा कार्यकर्ताको दायित्व’ विषयक कार्यक्रममा उनले युवाहरुमा राजनीतिप्रति प्रतिवद्धता नहुँदा दोधारको अवस्था सिर्जना भएको जनाए । ‘ युवाहरु एकोहोरो हुनुपर्छ, क्रान्तिको लागि एकोहोरो हुनुपर्छ, क्रान्तिप्रति समर्पित हुनुपर्छ, ’ उनले भने, ‘तर अहिलेका युवाहरुमा जाँच दिउँ कि क्रान्ति गरौं, जागिर खाउँ कि क्रान्ति गरांै भन्ने दोधारको स्थिति छ ।’
सो क्रममा उनले समाजवादको दायित्व युवाहरुको काँधमा आएकोले युवाहरुले अरु पार्टीले काम नगरेको ठाउँमा गएर जनताको सेवा गर्नु आवश्यकतामाथि जोड दिए । संगठित र अध्ययनशील नभएका युवाहरुले चाहेजस्तो गरी समाजवादी क्रान्ति सहजै नहुने अध्यक्ष रोहितको भनाइ थियो । उनले सिद्धान्तलाई आत्मसात गरेर समाजवादबारेमा सूक्ष्म अध्ययन गरी परिस्थिति अनुकूल तरिकाले क्रान्तिलाई अघि बढाउने प्रयत्न गर्नुपर्ने पनि उल्लेख गरे ।
मन्तव्यको क्रममा देश भड्खालोमा पर्नुको कारकमा एमाले, माओवादी र नेपाली काँग्रेस भएको ठोकुवा गरेका अध्यक्ष रोहितले देखावटी रुपमा समाजवादको वकालत गर्ने पार्टीले समाजवादको कुरा गर्नु मुर्खताको हद भएको पनि संज्ञा दिएका थिए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सदस्य नारायण महर्जनले युवाहरुलाई सही दिशातिर अघि बढाउने विचारको भनेकै समाजवाद भएको चर्चा गरे भने युवा संघका सल्लाहकार उकेश कवां, उपाध्यक्ष राजवीर डंगोल, सचिव शंकर भण्डारी र सहसचिव पाण्डव सुवालले पनि बोलेका थिए ।
कार्यक्रम आयोजक संघका अध्यक्ष प्रकाश थुसाको सभापतित्वमा भएको थियो ।
Related