बलराम प्यासी
काठमाडौ । नेपालस्थित जापानी राजदूतावासले सिराहा जिल्लामा अवस्थित फुलकुमारी महतो स्मृति अस्पतालको लागि अत्याधुनिक उपकरण सहितको मोवाइल क्लिनिक कार प्रदान गरेको छ ।
बुधबार राजदूतावासमा आयोजित एक कार्यक्रममा राजदूतावासको तर्फबाट नेपालका लागि जापानी राजदूत माशाही ओगावा तथा फुलकुमारी महतो स्मृति अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष उपेन्द्र महतोवीच सो मोवाइल क्लिनिक कार उपलब्ध गराउनेबारे सम्झौता भएको जापानी राजदूतावासले जनाएको छ ।
जापानको ग्रासरुट ह्युमन सेक्युरीटी प्रोजेक्ट (जिएसपि)ले उपलब्ध गराउन लागेको सो मोवाइल क्लिनिक कारको मुल्य करीव ६५ लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ ।
सम्झौताबमोजिम अत्याधुनिक उपकरणसहितको सो मोवाइल कार जापानको टोय फ्याक्ट्री (खेलौना कारखाना) ले निर्माण गर्दैछ । सो टोय फ्याक्ट्री र टोय फ्याक्ट्री इन्टरनेशनलले अत्याधुनिक उपकरणयुक्त सो कारको लागि भविष्यमा आवश्यक पर्ने मर्मत संभार र प्राविधिक सहयोग गर्ने पनि बुधबार गरिएको सम्झौतापत्रमा उल्लेख गरिएकोे छ ।
सो कारमा आधारभूत स्वास्थ्य परीक्षण तथा आकस्मिक उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सेवाका उपकरणहरु रहने छ । विरामीलाई अस्पतालमा पुर्याउने समयसम्मका लागि गरिने पहिलो चरणको उपचारको साथै साधारण शल्यक्रियाको व्यवस्था समेत सो कारमा उपलब्ध रहने छ ।
‘यो एउटा एम्बुलेन्सजस्तो कारमात्रै नभई सानोतिनो रोगको उपचारको लागि सानो अस्पताल नै हो ।’ राजदूतावासले जनाएको छ ।
सो मोवाइल कारले सिराहा जिल्लाको साथै आसपासका धनुषा, उदयपुर र सिन्धुलीका विरामी, महिला तथा वालवालिकाको लागि उपचार सेवा उपलब्ध गराउने जनाइएको छ ।
उपचारको लागि समयमै आफ्नी आमा फुलकुमारी महतोलाई अस्पतालमा पुर्याउन नसक्दा मृत्यु भएपछि उनको स्मृतिमा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सिरहा जिल्लाको करजंहामा फुलकुमारी महतो स्मृति अस्पताल स्थापना गरेका हुन ।
स्थानीय गरीव तथा निमुखा जनतालाई न्युनशुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले सो अस्पताल स्थापना गरेको अस्पतालका संस्थापक अध्यक्ष महतोले बताएका छन् । ‘साधारण स्वास्थ्य सेवा पनि समयमै पाउन नसकेर मेरी आमाले मृत्युवरण गर्न परेजस्तो अरु धेरै आमाले गर्न नपरोस्’ अधयक्ष महतोले भने ।







































