जोखिममा सुस्ताको झोलुङ्गे पुल

2

नवलपुर । पश्चिम नवलपरासीको पक्लिहवाबाट सुस्ता गाउँपालिका–५, सुस्तालाई जोड्ने  देशकै लामो एक हजार ५७१ मिटर लम्बाइको पुलमा अहिले हिँडडुलसँगै साइकल, मोटरसाइकल ओहोरदोहोर भइरहेका छन् । त्यसले सुस्तावासीलाई निकै सहज भएको छ ।

सुस्तावासीलाई आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिको प्रयोग गर्नुपर्ने र जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुको विकल्प थिएन । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भूमिबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन नदी पार गर्न साढे दुई किलोमिटर जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता थियो । गाउँको विद्यालयमा कक्षा ८ भन्दामाथि पढाइ नहुने भएकाले बालबालिका जोखिमपूर्ण यात्रा गर्न नसकेका कारण कि बिचमै पढाइ छोड्ने कि भारत पलायन हुने गरेको समस्या समाधान भएको सुस्ता गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले बताउनुभयो ।

बर्खामा पानी पर्नेबित्तिकै जोखिमका कारण डुङ्गा पनि चलाउन नपाउँदा आवतजावत नै बन्द हुन्थ्यो, सुस्तावासीको अन्यत्रसँगको सम्बन्ध टुट्ने गथ्र्यो, अहिले त्यो अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।

पुलको सुरक्षामा चुनौती

पुल निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले औपचारिक रूपमा पुल हस्तान्तरण गरिसकेको छैन । २३ करोड ६५ लाख ९८ हजार ८०० रुपियाँमा सम्पन्न भएको पुल हस्तान्तरण नहुँदै यहाँ जोखिम बढेको छ । झोलुङ्गे पुलमा भार नियन्त्रणको कुनै उपाय अवलम्बन गरिएको छैन । एउटै मोटरसाइकलमा तीन÷चार जनासम्म चढ्ने, धेरै मोटरसाइकल एकै पटक कुदाउने गरेका कारण पुलको सुरक्षामा चुनौती थपिएको उपाध्यक्ष चौधरीले बताउनुभयो । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नेपालीभन्दा पनि भारतीयकै कारण पुलको सुरक्षामा चुनौती थपिएको बताउनुभयो । विहारमा भन्दा उत्तरप्रदेशमा सामान सस्तो पाइने भएकाले उनीहरूले मोटरसाइकलमा समान राखेर पुलमा कुदाउने गरेकाले जोखिम थपिएको उपाध्यायले बताउनुभयो । डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयले पुलमा मोटरसाइकल चलाउन रोक लगाउन भने पनि त्यो रोक्न सकिने अवस्था नरहेको उहाँको भनाइ छ ।

नवलपरासीको सुस्ता गाउँपालिका–५ मा ८ कक्षासम्म मात्र पढाइ हुने एउटा मात्र श्री जनता दलित आधारभूत विद्यालय छ । ९ कक्षा पढ्नका लागि कि त भारतको विहार हुँदै हिँडेर नेपालको बलिनगरमा रहेको बिपी माध्यमिक विद्यालय जानु पथ्र्यो, कि त डुङ्गा चढेर नारायणी पार गरेर जानु पथ्र्यो । यो यात्रा सहज नभएकाले गाउँका धेरै बालबालिकाले ८ कक्षाभन्दा माथि पढ्न सकेनन् । तर अब भने अनेक यातनाबाट मुक्ति मिलेको बताउनुहुन्छ सुस्ता बचाउँ अभियानका संयोजक आदम खान ।