बैतडी । ज्वरोको लक्षण देखिएर एकै घरका दुई जना १३ र १० वर्षका बालकको मृत्यु भएपछि चिकित्सकको टोलीले परिवार र गाउँका मानिसको स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाएको छ ।
गाउँका ४० जनामा ज्वरोको सङ्क्रमण देखिएको छ । बिरामीमा उच्च ज्वरो आउने, रिँगाटा लाग्ने, ओठ सुक्ने र बान्ता हुने लक्षण देखिएको छ । बैतडीको पुर्चौडी नगरपालिका–१०, विजयपुरको महरागाउँका १० वर्षीय बालक विकास महराको शनिबार बिहान ८ बजे मृत्यु भएको हो भने १३ वर्षीय विनोद महराको फागुन ११ गते त्यसै गरी मृत्यु भएको थियो ।
मृतक १० वर्षीय बालकले ज्वरो आएका बेला बजारबाट अङ्गुर किनेर खाएपछि बान्ता हुन सुरु भएको केही मिनेटपछि बालकको मृत्यु भएको थियो । महरा गाउँमा ज्वरोका ४० जनाभन्दा बढी बिरामीको स्वाब सङ्कलन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदबहादुर कुँवरले बताउनुभयो । एकै घरका दुई जना बालकको मृत्यु भएको खबर प्राप्त हुनासाथ स्वास्थ्यकर्मीको टोली गाउँमा खटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।



































