काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश भएका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा कम्तिमा पनि ७ वटा रिट निवेदन पेश भएका छन् ।
तिहार बिदापछि अदालत खुलेको पहिलो दिन कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरु पेश गरेका हुन् ।
परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर आगामी सोमबारका लागि पहिलो पेशी तोकेको हो ।
प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।
रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् ।
टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।
नागरिकका लागि अपूरणीय क्षति हुने भन्दै उनीहरुले आफूहरुको निवेदनमा अन्तरिम आदेश जारी हुनुपर्ने माग समेत गरेका छन् ।
२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।








































