रसुवा — भारतीय राजदूतावासबाट प्राप्त नयाँ एम्बुलेन्स गोसाइँकुण्ड गाउँपालिकाले टिमुरे स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ। आइतबार आयोजित छैटौँ गोसाइँकुण्ड गाउँपालिका स्तरीय राष्ट्रप्रति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहकै क्रममा एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
समारोहमा गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा तामाङले एम्बुलेन्सको चाबी समितिका अध्यक्ष तथा वडा नं. २ का अध्यक्ष कामी छिरिङ तामाङलाई हस्तान्तरण गरेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत दुतेन्द चाम्लिङले भारतीय राजदूतावासले स्थानीय तह, स्वास्थ्य चौकी तथा अस्पतालहरूलाई आवश्यकता अनुरूप सहयोग दिँदै आएको जानकारी दिए। उनका अनुसार यसअघि गाउँपालिकाले प्राप्त गरेको पहिलो एम्बुलेन्स हाल वडा नं. ६ मा सञ्चालनमै छ।
चाम्लिङले भौगोलिक विविधता र दुर्गम क्षेत्रलाई ध्यानमा राखी सञ्चालित सहयोग कार्यक्रमले स्थानीय जनजीवन सहज बनाउन र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको धारणा व्यक्त गरे।





































