‘टी-२० वर्ल्डकप क्वालिफायर एसिया’ खेल्न नेपाली टोली मलेसिया प्रस्थान :: PahiloPost

296

काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० वर्ल्ड कपको पहिलो खुड्किलोको रुपमा रहेको ‘टी-२० वर्ल्डकप क्वालिफायर एसिया’को पहिलो चरणको छनोटका लागि नेपाली टोली सोमवार मलेसिया प्रस्थान गरेको छ।

एसिया छनोटको समूह बी मा रहेको नेपालले दोस्रो चरण प्रवेशका लागि अन्य ६ ६लीसँग प्रतिस्पर्धा गर्नेछ। यस समूहका खेलहरु अक्टोबर ३ देखि १२ सम्म मलेसियामा हुँदैछ। नेपाली टोली सोमवार दिउँसो १ बजे मालिन्डो एअरमार्फत मलेसिया प्रस्थान गरेको छ।

छनोटका लागि आइतवार १४ सदस्यीय नेपाली टोली घोषणा भएको थियो। जसमा प्रदिप ऐरीले तीन वर्षपछि पुनरागमन गरेका छन्।

समूह बी मा नेपालसँगै म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन, भुटान र सिंगापुर छन्।

नेपालले बुधवार म्यानमारसँग पहिलो खेल खेल्दै छनोट यात्रा सुरु गर्नेछ।

नेपालक बाहेक अन्य राष्ट्र तुलनाम्तक रुपमा कमजोर छन्। तर नेपालका कप्तान पारस खड्काले अन्य टोलीलाई पनि कमजोर लिन नमिल्ने र आफ्नो शतप्रतिशत दिएर खेल्ने बताए। उनले यस समूहको विजेता भएर दोस्रो चरणमा पुग्ने बताए।

यस्तै तीन वर्षपछि पुनरागमन गरेका प्रदिप ऐरीले टिम नपर्दा दु:ख लाग्ने गरेको र अब आफूलाई प्रमाणित गरेर देखाउने बताए।

यस समूहको शीर्ष तीन स्थानमा रहने टोली एसिया क्षेत्रकै दोस्रो चरणको छनोटका लागि छानिनेछ। जहाँ कूल ६ टिमबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट उत्कृष्ट दुई टिम ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ।

एसिया क्षेत्रको समूह ए बाट युएई, कुवेत र कतार दोस्रो चरणको लागि छनोट भइसकेका छन्।

 

नेपाली टोली:

पारस खड्का (कप्तान) , अनिल साह , बसन्त रेग्मी ,बिनोद भण्डारी,  दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरी , सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी

 

अफिसियल :

रमन शिवाकोटी : म्यानेजर/टेक्निकल एनालिष्ट

जगत टमाटा : कोच

दिनेश भट्ट : फिजियो

Source link