ट्रिपरको टायर पड्किएर ढुंगा उछिट्टिँदा…..

402

 

काठमाडौं ।

ढुंगा बोकेर भक्तपुरको बालकोटबाट ललितपुरको लुभुतिर जाँदै गरेको ट्रिपरको एक्कासी एउटा टायर पड्किएर उछिट्टिएको ढुंगाले लागेर घाइते भएका मोटरसाइकल चालक एकदिन अस्पतालमा उपचार गरि बिहीबार घर फर्केका छन ।

सुर्यविनायक नगरपालिका २ स्थित चाँगाथली सडकमा गुडिरहेको ट्रिपरको एउटा टायर एक्कासी पड्किएपछि सडकमा विच्छाएको ग्राभेलको ढुंगा उछिट्टिएर बा ७७ प ६२६९ नंको मोटरसाइकलका चालक २७ वर्षिय पुर्ण मगर घाइते भएका थिए । मगर मोटरसाइकलमा बालकोटबाट चाँगाथली (ट्रिपर गएको दिशा)तर्फ जाँदै थिए ।

घाइते मगरको टाउको र औंलामा चोट लागेको कारण उनलाई तत्काल उपचारको लागि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको थियो । उनलाई आवश्यक उपचारसहित अस्पतालमा एकदिन राखेपछि बिहीबार डिस्चार्ज गरिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रमुख प्रहरी नायव निरीक्षक (सइ) हरिश कुमार चन्दले बताए ।

बा ५ ख २२५८ नंको ढुंगा बोकेको सो ट्रिपरको टायर ओभरलोड र सडकमा विच्छयाएको ग्राभेलका कारण पड्किएको प्रहरीले आशंका गरेको छ ।

मगरलाई लागेको ढुंगा त्यहाँबाट पनि उछिट्टिएर सडक किनारमा रहेको ‘बालकोट ग्रिन हाउस’को मूल ढोकामा क्षति पुग्नुका साथै ढोकामाथि भेण्टिलेशनको सीसा समेत फुट्न पुगेको थियो ।

ट्रिपरधनीले घाइतेको आवश्यक उपचार तथा घरमा भएको क्षतिको सामान्य क्षतिपुर्ति तिरेर प्रभागमा आवश्यक कागज गरेपछि ट्रिपर र त्यसका चालकलाई बिहीबार नै छोडेको नायव निरीक्षक चन्दले बताए ।