ठेकदारको लापरबाहीले बारपाक–लाप्राक सडक वर्षौँदेखि अलपत्र, स्थानीयलाई दिनहुँ सास्ती

8

गोरखा — गोरखाको प्रमुख पर्यटकीय गन्तव्य बारपाक–लाप्राक सडक निर्माण ठेकदारको लापरबाहीका कारण लामो समयदेखि रोकिँदा स्थानीयवासी र सर्वसाधारणले निरन्तर कठिनाइ झेल्नु परेको छ। स्थानीयले बारम्बार ध्यानाकर्षण गराए पनि सडक स्तरोन्नतिको काम महिनौँदेखि लगभग ठप्प छ।

२०७७ जेठ ३० गते सम्झौता भई २०७९ जेठ मसान्तसम्म निर्माण सक्ने सहमति भए पनि विभिन्न बहाना देखाएर तीन पटक म्याद थपिँदा पनि काम अघि नबढेको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ।

धार्चे गाउँपालिका–४ लाप्राकका वडा अध्यक्ष किसान गुरुङका अनुसार सडक निर्माण समयमै नहुँदा बारपाक–लाप्राक खण्डमा ठूला सवारीसाधन चल्न नसक्दा दैनिक उपभोग्य सामग्री ढुवानी, सर्वसाधारणको आवाजाइ र पर्यटकको यात्रा अत्यन्त कष्टकर बनेको छ।
“बर्खा सुरु भएसँगै ठूला सवारी चल्नसमेत सकेका छैनन्,” अध्यक्ष गुरुङले बताए, “सडक नबन्दा लाप्राक–गुम्दा जानेले महँगो जिप चढेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।”

उता, निर्माण कम्पनीले भने भौगोलिक चुनौती र प्रतिकूल मौसमका कारण काम प्रभावित भएको दाबी गरेको छ। कम्पनीका प्रतिनिधि राजु कोइरालाका अनुसार करिब ७० प्रतिशत काम सकिएको र बाँकी ३० प्रतिशत आगामी जेठभित्र पूरा गर्ने तयारी छ।
“साइडको काम भइरहेको छ, मौसम खुलेपछि लेभर झारेर काम तीव्र बनाइनेछ,” कोइरालाले बताए।

पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर सुनिल कुशहाले बारम्बार ताकेता गर्दा पनि काम अघि नबढेपछि आवश्यक प्रक्रिया अपनाइने चेतावनी दिए।
“सम्झौताअनुसार काम सम्पन्न हुनुपर्ने हो, नबढाए नियमअनुसार अगाडि बढ्छौँ,” इन्जिनियर कुशहाले भने।

शर्मा–बिक्की जेभीसँग १३.१४ किलोमिटर सडक ग्राभेल गर्ने गरी ३४ करोड १५ लाख ७१ हजार १९८ रुपियाँमा ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ।