डा.गोविन्द केसीको फेरि ६ वुँदे माग

311

 

काठमाडौं ।

पटकपटक गरि दर्जनभन्दा बढी आमरण अनसन बस्दै आएका त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले यसअघि सरकारसंग भएका विभिन्न सम्झौताहरु कार्यान्वयन नभएको भन्दै ६ बुँदे माग राख्दै फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । साथै उनले आफ्ना माग पूरा नभए आमरण अनसनसहितका आन्दोलनका कडा कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले चिकित्सा शिक्षा अध्यादेश दोस्रो पटक जारी भइसकेपनि त्यसको प्रतिस्थापन विधेयक ल्याउने काममा राजनीतिक दलहरुले आलटाल गरिरहेको आरोप समेत लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्विधि २०७५ र शिक्षा मन्त्रालयले हचुवामा गरेका चिकित्सा शिक्षासम्बन्धी निर्णयप्रति समेत आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन् । कुनैपनि वहानामा चिकित्सा शिक्षा ऐन रोक्ने भन्दै उनले ऐन जनमुखी हुनुपर्ने माग गरेका छन् ।

चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कारवाही गर्नुपर्ने, त्रिविले खोसेका अधिकारहरु चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) लाई फिर्ता गर्दै संस्थानलाई थप स्वायत्तता दिनुपर्ने माग पनि उनको यथावत छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सँधैका लागि फिर्ता गर्नुपर्ने र चिकित्सकमाथि हुने धम्की र आक्रमण रोक्न यथाशिघ्र कानूनको निर्माण र कार्यान्वयन गर्न पनि उनले माग गरेका छन् ।