डेङ्गीबाट बच्च नागार्जुनको आग्रह

99

काठमाडौँ।
नागार्जुन नगरपालिकाले एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको संक्रमणबाट बच्न सबैलाई आग्रह गरेको छ । वर्षात यामको सुरुवात सँगै डेङ्गी रोगको संक्रमण बढ्न सक्ने भएकाले संक्रमणबाट बच्न नगरपालिकाले सोमबार सूचना जारी गरी सङ्क्रमणबाट बच्च र सवाधानी अपनाउन सबैलाई आग्रह गरेको हो ।

नगरपालिकाले लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानमा सहभागि हुन सबै नगरबासीलाई अनुरोध गरेको छ । डेङ्गी ज्वरोबाट बच्ने उपाय पानी जम्ने टीनका डम्बाहरु थोत्रा टायरहरु खाली बट्टा, गमला, फूलदानीमा पानी जम्न नदिने, पानीका ट्याङ्कीमा लामखट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हाल्ने र जम्मा भएको पानी फेर्ने सबै नगरबासीलाई नगरपालिकाले आग्रह गरेको हो ।

नगरपालिकाले फूलदानीमा भएको पानी हप्ताको दुईपटक फेर्ने, लामाखुट्टेको टोकाइबाट बच्च लामो बहुला भएको लुगा लगाउने, दिउँसो सुत्दा झुलको प्रयोग गर्ने, घरको झ्याल ढोकाहरुमा जाली राख्ने, सुङ्गुर, बङ्गुर तथा हाँसहरु व्यवस्थित तरिकाले घरदेखि टाढा राखेर पाल्ने, घरवरिपरि भएका पानी जम्ने खाडलहरु पुर्ने र पानी जम्न नदिने, लामखुट्टे मार्ने विषादि प्रयोग गर्दा जनस्वास्थ्यमा प्रतिकुल असर पुग्ने हुँदा लामाखुट्टेको बासस्थान नष्ट गर्न नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीद्वरा हस्ताक्षरित सूचनमा उल्लेख गरिएको छ ।

डेङ्गी ज्वरो संक्रमित भएको एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग भएकाले यस रोगको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउने, शरीर दुख्ने, जस्ता समस्या परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ ।