तलेजु भवानीको साक्षात रुप मानिने पायःद्यो जात्रा सकियो

474

भक्तपुर : विजयादशमीको मध्यरातको समयमा मनाइने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा शनिबार राति सम्पन्न भएको छ।

  तलेजु भवानीको साक्षात रुप मानिने पायःद्यो (खड्ग देवता) लाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ।

विजयादशमीको राति तलेजु आगम मन्दिरको ख“ कुथी कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र, अस्त्रसहित तलेजुको प्रतिरुप पायःद्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने गर्दछ।

जात्राको क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकवाटबाट बोकेर चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ।

पायःद्यो दरबार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पंक्तिबद्ध रुपमा प्रतिक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गर्छन्। तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पायःद्यो नवदुर्गा देवगणसहित यात्रापथमा अगाडि बढ्ने प्रचलन छ।

जात्रा चन्द्रमासको तिथि र गतिका आधार मनाइन्छ।