ताथलीमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता : तयारी तीब्र 

0
– हरिसुन्दर छुकां
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको आयोजनामा खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८२ हुने भएको छ। परम्परागत संस्कृति, कला र मौलिक बाजागाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको हो।
प्रतियोगिता मिति २०८२ माघ १६ गते (शुक्रबार) ताथलीकाे फैढोका आधारभूत विद्यालय, चाँगुनारायण–९ ताथलीमा सञ्चालन हुनेछ। प्रतियोगिता खुल्ला प्रकृतिको रहने भएकाले विभिन्न बाँसुरी बाजा खल, दाफा भजन समूह तथा संघ–संस्थाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
चाँगुनाराउण नगरपालिकामा जारी नगरकोट भ्रमण वर्ष २०८२ अन्तरगत उक्त प्रतियोगिता आयाेजना गर्ने तयारीमा वडा कार्यालय जुटेकाे वडा कार्यालयले जनाएको छ ।
नेपालको सांगीतिक परम्परामा बाँसुरी मनोरञ्जनको साधन मात्र नभई धार्मिक, सांस्कृतिक र भावनात्मक अभिव्यक्तिको सशक्त माध्यमका रूपमा रहेको छ। दाफा भजन, जात्रा, पूजा–आराधना तथा विभिन्न संस्कारहरूमा प्रयोग हुँदै आएको बाँसुरीले प्रकृति, मानव भावना र अध्यात्मलाई एकसाथ जोड्ने भूमिका खेल्दै आएको सांस्कृतिक जानकारहरू बताउँछन्। पछिल्लो समयमा आधुनिक बाजागाजाको प्रभाव बढ्दै जाँदा परम्परागत बाँसुरी बाजा ओझेलमा पर्न थालेकाले यस्ता प्रतियोगिताले यसको संरक्षण र निरन्तरतामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
वडा समितिले प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरी कार्यक्रम आयोजना गर्न लागेको वडा नं. ९ का अध्यक्ष गणेश त्यातले बताए । `बाँसुरी हाम्रो मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको बाजा हो। नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै यस्ता परम्परागत बाजागाजालाई जगेर्ना गर्नु हाम्रो दायित्व हो´, उनले भने, ´यस प्रतियोगिताले नयाँ पुस्तालाई बाँसुरी बाजातर्फ आकर्षित गर्नेछ भन्ने विश्वास छ।´
कार्यक्रमका लागि वडाले  वडा सदस्य रबिन बासुकलाकाे संयाेजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले प्रतियोगिताकाे तयारीका विभिन्न क्रियाकलाप गरेको छ ।
`बाँसुरी बाजा सिक्ने र बजाउने संस्कार हराउँदै गएको अवस्थामा यो प्रतियोगिताले अभ्यास र प्रस्तुतीकरणको अवसर प्रदान गर्नेछ´, कार्यक्रमकाे उद्देश्यबारे कार्यक्रम संयाेजक बासुकलाले भने, ` सहभागी सबै समूहलाई सम्मान गर्ने र उत्कृष्ट टोली तथा प्रशिक्षक (गुरु)लाई विशेष कदर गर्ने व्यवस्था गरिएको छ। सबै इच्छुक खल र समूहलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु।´
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम पुरस्कार रु. २५,०००, द्वितीय रु. १५,०००, तृतीय रु. १०,००० र सान्त्वना पुरस्कार रु. ५,००० तोकिएको छ। सहभागी सम्पूर्ण समूहलाई मायाको चिनो स्वरूप मादल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएको छ ।
दर्ता शुल्क रु. १,००० रहेको छ। प्रतियोगितामा सहभागी टाेली दर्ता आगामी माघ ११ गतेसम्म गरिनेछ। प्रतियोगितामा बढीमा २० टोली मात्र सहभागी गराइने आयोजक समितिले जनाएको छ।