भक्तपुर । २४ औं तामाङ प्रसारण दिवसको अवसर पारेर नेपाल राष्ट्रिय तामाङ घेदुङले शुक्रबार रेडियोकर्मीहरुलाई सम्मान गरेको छ ।
प्रदेश नं. ३ का उपसभामुख माननीय राधिका तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न रेडियोमा कार्यरत १४ जना रेडियोकर्मिहरुलाई सम्मान गरिएको हो । भक्तपुरस्थित माउन्टेन मल्टिपल्ट कन्सल्टेन्सी प्रा.लि.को सभाहलमा आयोजित कार्यक्रममा रेडियो नेपालका पूर्व सञ्चारकर्मी तथा तामाङ लेखक अमृत योन्जन, ध्यान बहादुर मोक्तान, रमिता बल, ईन्दिरा थिङलाई विषेश सम्मान तथा रेडियो नेपालकै सुर्य मोक्तान, भक्तपुर एफ.एम.का मोहन दोङ, रेडियो मिर्मिरेका विष्णु दोङ, थाहा सञ्चारकी सन्चु ब्लोन, रेडियो सगरमाथाका बुद्ध योन्जन, रेडियो नमोबुद्धका जगतमान बल, रेडियो मनहरि हेटौंडाका जयराम मोक्तान र रेडियो जनसञ्चारका सुदिन दोङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा तामाङ भाषाबाट रेडियो मार्फत आफ्नो कला संस्कृतिको उत्थान गर्दै भाषा बचाउन गरेको योगदानको सम्वन्धमा उनीहरुलाई सम्मान गरिएको थियो । साथै भक्तपुरको रेडियो जनसञ्चारका सुदिन दोङलाई उनले रेडियो मार्फत भाषा कला संस्कृति तथा तामाङको समस्टीगत उत्थानका लागि मात्र नभएर समूदायमा भएको रोगी विरामीको सहयोगका लागि पनि उत्कृष्ठ कार्य गर्दै आएको भनी उनलाई सम्मान गरेको थियो । विभिन्न रोगबाट पीडित हुँदै अएका आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग रकम उठाउँदै सहयोग गर्दै आएको भनी उनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपासभामुख तामाङले समाज परिवर्तनको लागि सञ्चार क्षेत्रको अति नै महत्वपूर्ण भूमिका रहने भएकोले सञ्चारकर्मीहरुले समाचारको सही स्रोत पत्ता लगाएर सत्यतथ्य अध्ययन गरेर मात्रै लेखन प्रसारण गरेमा समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन सकिने बताइन् । बिना स्रोत र तथ्यहीन समाचारले समाजलाई कहिले पनि प्रगतितर्फ अघि नबढाउने भएकोले सञ्चारकर्मीहरु जिम्मेवार भएर लाग्नु पर्ने बताइन् ।
नेपाल राष्ट्रिय तामाङ घेदुङका संघिय कार्यवहाक महासचिव प्रविनकुमार बलले संचालन गरेको कार्यक्रममा सम्मानित सञ्चारकर्मीहरुले अमृत योञ्जन , रमिता बल, जयराम मोक्तान, तिर्थमान बल, काभ्रे जिल्ला चौरीदेउराली ३ नं. वडाका वडाध्यक्ष विनोद घिसिङ , ह्याङला आदिवासी तामाङ समाजका अध्यक्ष कर्मा लोप्साङ लामा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य हिरालाल दोङ लगायतले आ(आफ्नो शुभकामना मन्तब्य व्यक्त गरिएको थियो।
घेदुङका संघीय अध्यक्ष तथा सम्मान कार्यक्रमका सभापति वीरबहादुर योञ्जनले सञ्चारकर्मीहरुले तामाङ समुदायको समाचार लेख्दा पक्ष(विपक्ष नछुटाइकन निष्पक्ष भएर समुदायको हितको लागि समाचार लेखन प्रकाशन र प्रसारण गर्न आग्रह गर्दै सम्मान कार्यक्रमको समापन गरिएको थियो।
उक्त सम्मान कार्यक्रमलाई राष्ट्रिय तामाङ घेदुङ ईजरायलले विशेष सहयोग गरेको थियो।
२०५१ साल भदौ १ गते तामाङ इतिहासमै पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण भएको थियो। सोही दिनलाई हरेक वर्ष तामाङ प्रसारण दिवसको रुपमा मनाउदै आईरहेको छ।







































