भक्तपुर । तामाङ संस्कृतिको रक्षाकोलागि तामाङ समुदायले “तामाङ फाउण्डेशन नेपाल” स्थापना गरेका छन् । भक्तपुरमा आयोजित एक पत्रकार सम्मेलनमा तामाङ समुदायको सांस्कृतिक, धार्मिक, आर्थिक, सामाजिक, शैक्षिक विकास एवं रक्षाकालागि फाउन्डेसनको स्थापना गरिएको फाउण्डेशनका अध्यक्ष अरुण घिसिंङले जानकारी दिनुभयो ।
उहाँका अनुसार तामाङहरुका हक अधिकार संरक्षणकालागि खुलेका बिभिन्न संघ संस्थाहरु भए पनि तामाङहरुको कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा कसैले पनि खासै भूमिका निर्वाह नगरेका कारण यसको संरक्षणका लागि नै फाउन्डेसनको सुरुवात भएको वताउनुभयो ।
फाउण्डेशनले आर्थिक रुपमा विपन्न रहेका तामाङ समुदायका वालवालिकालाई शिक्षा उनका परिवारलाई सिप मुलक तालिम तथा आत्म निर्भरका कार्यक्रम ल्याई तमाम तामाङ समुदायको सामाजिक आर्थिक एवं सार्वाङगिण विकसमा कोसेढुँगाको काम गर्ने लक्ष्य रहेको घिसिङले जानकारी दिनुभयो । कार्यक्रममा फउन्डेसनका सदस्यहरुले आफ्नो संस्थाले केवल तामाङ समुदायको संस्कृति परम्परा रितिरिवाजको रक्षा मात्र नगरि अन्तर जाति सम्वन्ध विकास एवं मेलमिलापको कार्य पनि गर्ने जानकारी दिनुभएको थियो ।









































