काठमाडौं ।
नेपालकै पुरानो सामाजिक संस्था ‘नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी’ का गुठीयारले नै गुठीको हीत विपरित कार्य गर्दै आर्थिक अनियमितता गरेको आरोपमा तीनजना मुख्य गुठीयारलाई साधारण सदस्यबाटै हटाएको छ ।
महागुठीका अध्यक्ष उदयमोहन श्रेष्ठको अध्यक्षतामा बसेको महागुठीको ९१ औ वार्षिक साधारण सभाले मुख्य गुठीयारहरु नेकपा माओवादी नेतृ समेत रहेकी महालक्ष्मी श्रेष्ठ, उर्मिला गर्ग र रामबदन जोशीलाई साधारण सदस्य नै नहरने गरी हटाएको हो ।
महागुठीका अध्यक्ष श्रेष्ठका अनुसार उनीहरुले पदको दुरुपयोग गरेको, सस्थाको विधान विपरित कार्य गदै महागुठीको कागजपत्रहरु अ–आफ्नो घरमा लगेको, बिभिन्न बैकमा रहेको रकम रोक्का गरेको, आर्थिक हिनामिना गरी संस्थालाई धरासायी बनाएको आरोप लगाएको छ । साथै जिल्ला प्रशासन कार्यालय, अदालत र अख्तियारमा उजुरी हालेर काम गर्न नदिएको पनि अध्यक्ष श्रेष्ठले बताए ।
महागुठीको महिला आश्रम काँडाघारीमा सम्पन्न साधारण सभामा कागे्रस नेता बिमलेन्द्र निधि, पुर्व सांसद दीपकप्रसाद कुईकेलका साथै महागुठीका मुख्य गुठीयार तथा गुठीयारहरुको सहभागिता थियो ।
समाजसेवी एव.गान्धीवादी बिचारक तुलसीमेहर श्रेष्ठले ६ दशकभन्दा लामो समय महागुठीमा समाजका असहाय, टुहुरा, महिला तथा वालवालिकाको लागि सीप विकास, साक्षरताको तालिम दिदै आएकोमा विगत केही वर्षदेखि सो कार्य बन्द गरिएको छ ।
महागुठीको स्वामित्वमा काठमाण्डौको गोठाटारमा जग्गा ५२–१–० रोपनी र भवनहरु, खिचापोखरी घरजग्गा ०–१–१–३ रोपनी, ललितपुरको मानभवनमा १२–४–३ रोपनी लगनखेलमा २–१४–० रोपनी मोरङ्गको अमरदह २१–०–८ विघा,काभे्रको बनेपा चण्डेश्वरीमा ७–१२–३ रोपनी,धनुुषाको क्षीरलक्ष्मीपुरमा ५० विघा १४ कठ्ठा ३ धुर जग्गा छ ।
बि.स.१९५३मा ललितपुरमा जन्मेका तुलसीमेहेर श्रेष्ठले भारतको सावरमती आश्रममा महात्मा गान्धीका साथमा चर्खाबाट धागो कात्ने र खद्दरको कपडा बन्ने तालिम प्राप्त गरेका थिए । १९८३ देखि शिक्षाको प्रचार प्रसार गर्दै समाजसेवा गर्न थाले । वि.स. १९७७ मा भारतको जवाहरलाल नेहरु पुरस्कार प्राप्त गरे । बि.स. २०३५ मा उनको निधन भएको हो ।







































